भदौं १५,काठमाडौं : सिटिजन लाइफ इन्स्योरेनस कम्पनी लिमिटेडले आजदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले कुल जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम मूल्य सहित २४४ रुपैयाँका दरले १ करोड १२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।
सोमध्ये ११ लाख २५ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि र ५ लाख ६२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि निष्काशन गरि बाँडफाँड गरिसकेको छ।
यस्तै, ५ लाख ६२ हजार ५०० कित्ता प्रतिसेयर १०० रुपैयाँमा इन्स्योरेन्सका कर्मचारीहरुका लागि निष्काशन गरि बाँकी रहेको ९० लाख कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको हो।
हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ६२ करोड ५० लाख रुपैयाँ रहेको छ। सर्वसाधारणका लागि निष्काशन गरेको ९० लाख कित्ता शेयर बाँडफाँटपश्चात इन्स्योरेन्सको चुक्ता पूँजी ३ अर्ब ७५ करोड रुपैयाँ रहेको छ।
कम्पनीले निष्कासन गरेको आईपीओमा सर्वसाधारणले भदौ १९ गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्तासम्म आवेदन दिन सकिनेछ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तिय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट उपलब्ध गराएको ‘मेरो सेयर’ सफटवेयरबाट आवेदन दिन सक्नेछन्।
आर्थिक वर्ष २०७८/७९ को वास्तविक वित्तीय विवरणअनुसार कम्पनी एक अर्ब २६ करोड ७६ लाख रुपैयाँ सञ्चित नाफामा रहेको छ। उक्त अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ४९ पैसा रहेको छ भने प्रतिसेयर १७२ रुपैयाँ ४३ पैसा नेटवर्थ रहेको छ।
कम्पनीले दोस्रो बजारमा पहिलो कारोबारका लागि १७२ रुपैयाँ ४३ पैसादेखि ५१७ रुपैयाँ २९ पैसा पाउने देखिन्छ। नेप्सेले वास्तविक प्रतिसेयर नेटवर्थको तीन गुँणासम्म पहिलो मूल्यरेन्ज दिने गर्छ।



