दयाहाङ राई र मिरुना मगर स्टार फिल्म ‘जारी’ले १५ करोड कमाएको छ। उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको यो फिल्ममा दयाहाङ राई र मिरुना मगर मुख्य भूमिकामा छन्। यो लिम्बू संस्कृतिमा आधारित भएर निर्माण गरिएको फिल्म हो।
वैशाखमा प्रदर्शन भएका चार फिल्म अहिले पनि हलमा चलिरहेका छन् जसमध्ये लिम्बू संस्कृतिमा आधारित भएर बनेको ‘जारी’ सबैभन्दा बढी कमाइ गर्न सफल भएको हो । निर्माण कम्पनीका अनुसार फिल्मको कुल कमाइमा काठमाडौं उपत्यकाभन्दा मोफसलको हिस्सा केही बढी देखिएको छ । रिलिजदेखि नै फिल्मले पूर्वी नेपालका सहरमा आक्रामक कमाइ गरिरहेको थियो । पूर्वी सहरमा अहिले पनि अकुपेन्सी राम्रै देखिएको छ ।
चलचित्र विकास बोर्डको बक्सअफिसका अनुसार ‘जारी’ले ३ हप्तामा १५ करोड कमाएको हो । वैशाख १ गते प्रदर्शनमा आएको यो फिल्मको वैशाख २१ गतेसम्मको कमाइ हो । बोर्डका सदस्य रवि अधिकारीले ‘जारी’ को व्यापार राम्रो रहेको बताए । उनले भनेका छन्, “जारीले गरिरहेको व्यापारलाई मध्यनजर गर्ने हो भने यसको व्यावसायिक अङ्क अझै बढ्ने देखिन्छ ।”
वैशाख १५ गतेदेखि प्रदर्शनरत ‘प्रसाद २’ र ‘नाई नभन्नु ल ६’ को सो सङ्ख्या घट्नाका साथै दर्शक पनि घटेका छन् । प्रदर्शनको एक साता पार गर्दा ‘नाई नभन्नु ल ६’ ले रु २५ लाख र ‘प्रसाद २’ ले रु ७० लाखको व्यापार गर्न सफल भएको छ । उल्लिखित विवरणमा १८ प्रतिशत कर कट्टा गरी प्राप्त रकम चलचित्र भवन र वितरकले सहमतिअनुसार भागबन्डा लगाउने गर्दछन् ।
यस्तै वैशाख २१ गतेदेखि प्रदर्शनरत चलचित्र ‘ज्याकीः आई एम ट्वान्टी वान’ ले दुई दिनमा रु २० लाखको हाराहारीका व्यापार गरेको छ ।



