भदौ १९,काठमाडौं : मिड सोलु हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणको लागि भदौ २८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ ।
पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरी बाँडफाँट गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणको निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको हो ।
कम्पनीले सर्वसाधारणलाई छुट्याएको ७ लाख ४८ हजार ४०० कित्तामध्ये वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि ७४ हजार ८४० कित्ता (बाँडफाँट गरिसकेको), कम्पनीका कर्मचारीहरुका लागि १४ हजार ९६८ कित्ता र ३७ हजार ४२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरि बाँकी रहेको ६ लाख २१ हजार १७२ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गर्न लागेको छ।
कम्पनीको आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि असोज १ गतेसम्म आवेदन दिन सक्नेछन् भने, सबै शेयर बिक्री नभएमा आवेदन दिने समय असोज ११ गतेसम्म थप हुनेछ।
मिड सोलु हाइड्रोपावर कम्पनीको आइपिओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सि–आस्बा सदस्य बैंक तथा वित्तिय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा मेरो शेयर सफ्टवेयर प्रयोग गरी सिआस्बा प्रणाली मार्फत आवेदन दिन सकिने छ। यस्तै, कम्पनीको आइपिओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।



