२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

‘भ्रष्टाचार गर्दिन, अरूले गरे सहन्न’

images

  • २०८० माघ २८, आइतबार
  • 981
    SHARES
  • ‘भ्रष्टाचार गर्दिन, अरूले गरे सहन्न’

    गण्डकी : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ स्थापना दिवसका अवसरमा आयोगको पोखरा कार्यालयद्वारा आज यहाँ आयोजित समारोहका वक्ताले भ्रष्टाचार नियन्त्रणका लागि ‘म भ्रष्टाचार गर्दिन, अरूले गरे सहन्न’ भन्ने भनाइको मर्म र भावनालाई सबैले आत्मसात् गर्नुपर्ने बताएका छन्। 

    समाजमा भ्रष्टाचार व्याप्त भएका कारण सरकारका प्रतिनिधि र कर्मचारीप्रति नागरिकमा नकारात्मक धारणा सिर्जना भएको भन्दै उनीहरूले अख्तियारको दुरुपयोग रोक्न पहिले सोच, संस्कार र व्यवहार बदल्नुपर्ने बताएका हुन्। गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतले सदाचार प्रवर्द्धनमा सबैको योगदान आवश्यक भएको बताउनुभयो। 

    “कर्मचारीले दिने सेवा र नागरिकप्रति देखाउने व्यवहारमा सरकारको प्रतिनिधित्व र उपस्थिति झल्केको हुन्छ”, उहाँले भन्नुभयो, “सरकारी कार्यालयबाट समयमै सेवा प्रवाह गर्न आवश्यक छ।” उहाँले आफू पनि भ्रष्टाचार गर्दिन र अरूले गरे पनि सहन्न भन्ने सोचबाट अगाडि बढेमा सुशासन प्रवर्द्धनमा ठुलो टेवा पुग्ने धारणा व्यक्त गर्नुभयो। आयोगमा परेका उजुरीको समयमै छानबिन गरी दोषीमाथि कारबाही गरेमा आयोगप्रतिको जनविश्वास अझ बढेर जाने प्रमुख सचिव बस्नेतले बताउनुभयो। 

    प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले भ्रष्टाचार नियन्त्रणका लागि हरेक कर्मचारीको सोचमा परिवर्तन हुनुपर्ने बताउनुभयो। सुशासन प्रवर्द्धनका लागि अभियान सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। “हामी सबैले भ्रष्टाचार नगर्ने भनेर प्रतिबद्धता गरौँ”, उहाँले भन्नुभयो, “नागरिकलाई छिटोछरितो र पारदर्शीरुपमा सेवा प्रवाह गर्न सकियो भने हामीप्रतिको दृष्टिकोण सकारात्मक बन्छ।”

    आयोगको पोखरा कार्यालयका प्रमुख अस्मान गुरुङले प्रशासनिक र राजनीतिक क्षेत्रमा बढी भ्रष्टाचार हुने गरेको बताउनुभयो। “आयोगलाई राज्यका निकायदेखि नागरिक समुदायसम्मको साथ र सहयोगको खाँचो छ, सुशासन कायम गर्न हामी तयार छौँ”, उहाँले भन्नुभयो। त्यस अवसरमा आयोग कार्यालयले आयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन’ विषयक विद्यालय स्तरीय निबन्ध प्रतियोगिता विजेतालाई पुरस्कृत गरिएको थियो। 

    प्रतियोगितामा प्रथम हुने प्रकाश मावि, म्याग्दीकी रिया श्रेष्ठले रु १५ हजार, शीतलादेवी सामुदायिक विद्यालय, पोखराका अर्मान गिरीले द्वितीय स्थान हासिल गरी रु १२ हजार र तृतीय भएका नेपाल पुलिस स्कुल तनहुँका वर्षा आचार्यले रु १० हजार पुरस्कार प्राप्त गरेको कार्यालयका सूचना अधिकारी जगदीशचन्द्र शिवाकोटीले जानकारी दिनुभयो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ