भदौ २१,काठमाडौं :अर्थमन्त्री डा.प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रमा सुधार ल्याउनको लागि संसदबाट नै सकारात्मक बहस गर्न आवश्यक रहेको बताउनुभएको छ ।
बिहीबार बसेको प्रतिनिधि सभामा सांसदहरुसँगको प्रश्नोउत्तरको जवाफमा अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो ।
अर्थमन्त्री महतले देशमा सबै नराम्रो मात्रै भएको छ,अर्थतन्त्र ओरालो लागेर बिग्रियो, अब यो देशमा बस्नु र लगानी गर्नुको औचित्य छैन भन्ने जस्ता नकारात्मक सन्देश समाजमा फैल्याउन नहुने उल्लेख गर्नुभयो ।
उहाँले देशमा अर्थतन्त्र लगायतका विषयमा सकारात्मक बहसको आवश्यकता रहेको भन्दै उक्त बहस संसदबाटै सुरु गर्न आवश्यक रहेको बताउनुभयो ।
अर्थमन्त्री महतले सबैले नकारात्मक मात्रै कुरा गरी राख्यो भने परिणाम पनि नकारात्मक आउने दाबी गर्नुभयो । उहाँले मुलुक भित्रै लगानी गर्न लगानीकर्ताको मनोबल बढाउनुपर्ने अवस्थामा अन्योल पार्न नहुने बताउनुभयो ।
मुलुकको अर्थतन्त्रले कोभिड महामारी लगायत धेरै अफ्ठ्यारो परिस्थिति भोगेर आएको भन्दै अहिले मुलुकको अर्थतन्त्र सहज अवस्थामा रहेकाले आत्तिन नहुने अर्थमन्त्री महतको भनाई छ



