भदौ २४,काठमाडौं :प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्राप्त उपलब्धिको रक्षाको लागि लाखौं जनता सडकमा उतार्ने बताउनु भएको छ । समाजवादी मोर्चाले आइतबार हेटौंडामा आयोजना गरेको सन्देश सभामा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
संघीयता, गणतन्त्रमाथि प्रतिक्रियावादीहरूले प्रहार गरिरहेको भन्दै त्यसविरूद्ध जनता सडकमा उतार्ने उहाँको दाबी छ ।प्रतिक्रियावादी शक्तिहरूले संघीयता, गणतन्त्रलाई होच्याउने गरिरहेका छन् । अपमानित गरिरहेका छन् । प्रहार गरिरहेका छन् । जनयुद्ध, जन आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्न समाजवादी मोर्चा बनाएको हो’, उहाँले भन्नु भयो, ‘अहिले त हामीले कार्यक्रम कोठामा गरिरहेका छौं । केहि समयमा प्रतिक्रियावादीहरूको सातो जानेगरी सडकमा लाखौं जनता उतार्छौं ।’
कार्यक्रममा समाजको एक तप्कालाई सरकारले चालेको सुशासनको अभियान मन नपरेको उहाँले जिकिर गर्नु भयो । कुशासनबाट फाइँदा लिइरहेकाहरू सुरुदेखि नै अभियानबाट आत्तिएको बताउदै तिनीहरूबाट नै अहिले एक खालको दबाब महशुस भएको उहाँको बुझाइ छ ।
प्रचण्डले भन्नु भयो, ‘प्रधानमन्त्रीविरूद्ध अदालतमा मुद्दा दायर भएको छ । अभियानबाट समाजका एक तप्का आतंकित छन् । यो सामान्य कुरा होइन ।’तर सरकारको अभियानमा माधव, विप्लव र जसपाको बलियो साथ रहेकाले आफूमा आत्मबल बढेको उहाँको भनाई छ ।



