काठमाडौँ : रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको सातौँ वार्षिक साधारण सभा आज बस्दैछ। कम्पनीको माघ ४ गते बसेको सञ्चालक समितिको बैठकले सभा माघ २९ गते लिसरा ब्यांकेट ज्ञानेश्वर काठमाडौँमा बिहान ११ बजे बस्ने निर्णय गरेको थियो।
कम्पनीले सभामा गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको १६ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.८४ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्नेछ।
सभामा कम्पनीले गत आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ।
साथै, बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ को दफा १४ (५) बमोजिम उप समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरूको भत्ता अनुमोदन र सर्वसाधारण सेयर धनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने एजेण्डा समेत सभाको कार्य सूचीमा समावेश भएको छ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ १५ गते बुक क्लोज गरिसकेको छ। जस अनुसार माघ १४ गतेसम्म कायम सेयर धनीहरूले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन्।



