काठमाडौँ : नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आज (फागुन १ गते) देखि ऋणपत्र निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। बैंकले १० वर्ष अवधिको वार्षिक १० प्रतिशत ब्याजदरमा ‘१० प्रतिशत एनआईएमबी डिबेञ्चर २०९०’ निष्कासन खुला गर्न लागेको हो।
बैंकले प्रतिऋणपत्र एक हजार अङ्कित दरका ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ४० लाख ४० हजार कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो। जस मध्य ६० प्रतिशत अर्थात् २ अर्ब ४२ करोड ४० लाख रुपैयाँ बराबरको २४ लाख २४ हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात् १ अर्ब ६१ करोड ६० लाख रुपैयाँ बराबरको १६ लाख १६ हजार कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ।
सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्र मध्य ५ प्रतिशत अर्थात् ८० हजार ८०० कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरूका लागि छुटाइएको छ। लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ।
उक्त ऋणपत्रमा आज फागुन १ गतेदेखि फागुन ४ गतेसम्म आवेदन दिन सकिने छ। उक्त अवधिमा सम्पूर्ण कित्ता बिक्री नभएमा भने निष्कासन अवधि फागुन १५ गतेसम्म लम्बिने छ। ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्थ वार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात् कर कट्टा गरी भुक्तानी गर्ने कम्पनीले भनेको छ।
लगानीकर्ताले नेपाल धितो पत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू तथा तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लिरिङ्ग लिमिटेडबाट निर्माण गरिएको मेरो सेयर अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
ऋणपत्र निष्कासनका लागि गराएको क्रेडिट रेटिङमा इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित रहेको सङ्केत गर्दछ। बैंकको धितो पत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।



