काठमाडौँ : साताको तेस्रो कारोबार दिन आज मंगलबार नेप्से परिसूचक घटेर बन्द भएको छ। आज नेप्से परिसूचक ३०.५६ अंक घटेर २०७०.५९ विन्दुमा पुगेको छ। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ५.९९ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.०७ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स १.९५ अंक घटेको छ।
हिजो सार्वजनिक भएको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा लगानीकर्ताहरुले अपेक्षा गरेअनुसार नआउँदा यस दिन लगानीकर्ताहरु निराश भएका छन्।
मौद्रिक नीतिले सेयर धितो कर्जा रकमको सीमामा केही सहजता ल्याउन सक्ने, ठूला कर्जामा पनि जोखिमभार घट्न सक्ने कतिपयको अनुमान थियो। हाल व्यक्तिगत लगानीकर्ताले बैंकहरुबाट १५ करोडसम्म मात्रै सेयर कर्जा पाउँछन् भने ठूलो सेयर कर्जाको जोखिमभार १२५ प्रतिशत छ।
नेप्से घटेपनि आज कारोबार रकम भने बढेको छ। हिजो सोमबार साढे ३ अर्बको शेयर कारोबार भएको बजारमा आज ३०५ कम्पनीको ८२ हजार ८९९ पटकको कारोबारमा ४ अर्ब ६६ करोड ७१ लाख ७९ हजार रुपैयाँ बराबरको १ करोड २१ लाख ६५ हजार कित्ता शेयर कारोबार भएको छ।
आज ४० कम्पनीको मूल्य बढेको छ भने २०३ कम्पनीको मूल्य घटेको छ तथा बाँकी ५ कम्पनीको मूल्य स्थिर रहेको छ।कारोबार रकमका आधारमा आज पनि हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा ३२ करोड ५० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने सोनापुर मिनरल्सको करिब १२ करोडको शेयर कारोबार भएको छ भने सानिमा मिडल तमोरको कारोबार रकम १० अर्ब नाघेको छ।
आज ३ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ जसमा बोटलर्स नेपाल (बालाजु), समाज लघुवित्त र सुपर माइ हाइड्रोपावर रहेका छन् भने जोशी हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ तथा गुराँस लघुवित्तको शेयरमूल्य सर्वाधिक ९.७० प्रतिशत घटेको छ।
आज मंगलबार १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक २.४० प्रतिशत घटेको छ। त्यस्तै, आज वित्त, लगानी र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, होटल तथा पर्यटन, निर्जीवन बीमा, जीवन बीमा, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।



