काठमाडौँ : वैदेशिक रोजगार विभागले सात महिनामा ४ लाख भन्दा बढी नेपालीहरू वैदेशिक रोजगारीका लागि गएको जनाएको छ। वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को माघ मसान्तसम्ममा ४ लाख ५ हजार ५ सय ५८ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन्।
त्यसरी जानेहरूमा सबैभन्दा बढी पुरुषहरू रहेका छन्। ३ लाख ५९ हजार ८ सय १२ पुरुषहरू र ४५ हजार ७ सय ४६ जना महिलाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका छन्। यही समयमा गत आर्थिक वर्ष २०७९/८० मा भने ४ लाख ७८ हजार ८ सय ३० जना नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए।
विभागको तथ्याङ्क अनुसार साउन महिनामा ५५ हजार ५ सय ७५ जनाले श्रम स्वीकृति लिएका थिए। त्यस्तै, भदौमा ५० हजार ८ सय ८४, असोजमा ५६ हजार २ सय ३५, कात्तिकमा ४३ हजार ६ सय २२, मङ्सिरमा ६८ हजार २ सय १, पुसमा ६५ हजार ८ सय १३ र माघ महिनामा ६२ हजार १ सय ४७ जनाले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका थिए।



