काठमाडौँ : कामना सेवा विकास बैंक र सार्वजनिक खरिद अनुगमन कार्यालय, ताहाचालबिच सार्वजनिक खरिद प्रयोजनको लागि बोलपत्र बापतको बैंक जमानत सम्बन्धी कागजात प्रमाणीकरण सम्बन्धी सम्झौता सम्पन्न भएको छ।
यो सम्झौता पश्चात् सरकारी निकायहरूबाट सार्वजनिक खरिदको लागि आव्हान गरिने बोलपत्र बापतको बैंक जमानत कामना सेवा विकास बैंकबाट लिई अनलाइन मार्फत सम्बन्धित निकायमा पेस गर्न सक्नेछन्।
बैंकका ग्राहकहरूले बैंक जमानत लिई सोसँग सम्बन्धित कागजातहरू अनलाइन माध्यमद्वारा पेस गरेपश्चात् बैंकले उक्त कागजातहरू प्रमाणीकरण गर्नेछ। उक्त सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली र सार्वजनिक खरिद अनुगमन कार्यालयका तर्फबाट कार्यालयका सह–सचिव विष्णु प्रसाद शर्माले हस्ताक्षर गर्नुभएको छ।
यो सम्झौताले बैंकका ग्राहकहरूलाई सरकारी बोलपत्रमा सहभागी हुन र बैक जमानत लिन थप सहज भई बैंकको व्यवसायमा समेत टेवा पुग्ने विश्वास बैंकले लिएको छ। बैंकले हाल देशभर १३५ वटा शाखा सञ्जाल र ७७ वटा एटिएम बुथ मार्फत अत्याधुनिक बैङ्किङ सुविधा प्रदान गर्दै आइरहेको छ।



