भदौं २७,काठमाडौं : हृदयघातबाट निधन भएका संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर एमाले पार्टी कार्यालय च्यासलबाट घर लगिएको छ।
सोमबार राति निधन भएका एमाले उपाध्यक्ष नेम्वाङको पार्थिव शरीर मंगलबार देखि आज दिउँसो १ बजेसम्म पार्टी कार्यालय च्यासलमा राखिएको थियो।
विदेशबाट आएका दुबै छोराहरूले च्यासलमा अन्तिम श्रद्धाञ्जली दिएपछि उनको पार्थिव शरीर बालुवाटारस्थित निवासमा लगिएको हो।
नेम्वाङका जेठा छोरा मिङ्सो बेलायतबाट आज बिहान काठमाडौं आइपुगेका हुन् भने कान्छा छोरा सुहाङ मंगलबार राति नै अष्ट्रेलियाबाट नेपाल आएका थिए। सुहाङ एक महिनाका लागि अष्ट्रेलिया गएका थिए।
निवासमा लिम्बु परम्पराअनुसारको विधि गरिने उनका स्वकीय सचिव कृष्ण काफ्लेले जानकारी दिनु भयो। नेम्वाङको भोलि ११ बजे हिन्दु र लिम्बू परम्पराअनुसार अन्त्येष्टि गरिने एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनु भयो।



