२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
दुर्घटना

लुम्बिनी प्रदेशमा रोकिएन सडक दुर्घटनामा ३ दिनमा २२ जना तथा ६ महिनामा २८५ जनाको मृत्यु

images

  • २०८० फागुन ४, शुक्रबार
  • 1.3K
    SHARES
  • लुम्बिनी प्रदेशमा रोकिएन सडक दुर्घटनामा ३ दिनमा २२ जना तथा ६ महिनामा २८५ जनाको मृत्यु

    भैरहवा : फागुन लागकैदिन पाल्पामा जिप दुर्घटना हुँदा १० जनाले अकालमा ज्यान गुमाउनु पर्‍यो। १३ जनाको सिट क्षमता रहेको जिपमा २७ जना यात्रु सवार रहेका थिए। जिप उकालोमा तान्न नसकेपछि दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ।

    बिहीबार कपिलवस्तुको सुराही नाकामा बस दुर्घटना हुँदा पनि १० जनाले ज्यान गुमाउनु पर्‍यो। सोही बसमा सवार अन्य ३० जना घाइते भएको प्रहरीको भनाइ छ। बस तीव्र गतिमा रहेका कारण दुर्घटना भएको जनाइएको छ। 

    गत माघमा दाङको भालु वाङमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो। तीव्र गतिमा रहेको बस ट्राफिक प्रहरीलाई छल्दै सोझै राप्ती नदीमा खसेको थियो । यी घटनाहरू त प्रतिनिधिमूलक घटना मात्र हुन्। लुम्बिनी प्रदेशमा मात्रै पछिल्लो चालु आर्थिक वर्षको ६ महिनामा २ सय ८५ जनाले ज्यान गुमाएको प्रहरी तथ्याङ्क छ। फागुन महिनामा मात्रै २२ जनाले ज्यान गुमाएको र घाइतेको गम्भीर अवस्थालाई हेर्दै यो सङ्ख्या अझै बढ्न सक्ने ट्राफिक प्रहरीको भनाइ छ। 

    विशेषतः प्रदेशको पहाडी जिल्लामा भएको दुर्घटनामा परेर हताहत हुने सङ्ख्या बढी रहेको छ। ट्राफिक प्रहरी, सवारी चालक एवं बस व्यवसायीहरूको चेपुवामा यात्रुहरूले ज्यान गुमाइरहँदा यी सरोकारवाला एक अर्कालाई दोषारोपण दिइरहेका छन् । ट्राफिक प्रहरीले चालक, सडकको अवस्था एवं सवारीको स्थितिलाई देखाउँदै यिनीहरूलाई दुर्घटनाको कारक बताइरहेको छ। बस व्यवसायीहरूले भने ट्राफिक प्रहरीले दुर्घटनाका नाममा अनावश्यक जाँच गरी मानसिक तनाव दिएको आरोप छ।

    नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले प्रारम्भिक अनुसन्धानमा चालककै लापरबाहीका कारण दुर्घटना भएको बताउनुभएको छ। तीव्र गति, अत्यधिक भार वहनका कारण पाल्पा र कपिलवस्तुको दुर्घटना भएको उहाँको भनाइ छ।

    हालको घटनामा चालकको लापरबाही देखिए पनि दुर्घटनामा अन्य कारणले पनि प्रभाव पार्ने गरेको उहाँ बताउनुहुन्छ। मुख्यतया: चालक तथा यात्रुले ट्राफिक नियमको पालना नगर्नु, सडकको अवस्था, सवारी साधनको अवस्था, मापसे, चालकहरू पेसाप्रति जबाफदेही नहुनु, भौगोलिक विकटता, अत्यधिक सवारी चापलगायत कारण लुम्बिनी प्रदेशका दुर्घटनाका मुख्य समस्याका रूपमा रहेका छन्।

    प्रहरी उपरीक्षक प्रसाईँले दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरीसँग सीमित स्रोत साधन रहेको बताउनुभयो। “ट्राफिक व्यवस्थापन प्रविधिमैत्री र डिजिटाइलेजेसन गर्न आवश्यक छ, अहिले ट्राफिक प्रहरीमा यी दुवैको खाँचो छ,” उहाँले भन्नुभयो, “हामीले पर्याप्त कारबाही गरेका छौँ, प्रहरीले सचेतनासँगै सजाय गरे पनि त्यो पर्याप्त हुन सकेको छैन।” 

    उहाँले ट्राफिक प्रहरी प्रविधि र उपकरणमा कमजोर रहेको बताउनुभयो। यसका लागि स्थानीय निकायहरूसँग पटक पटक अनुरोध गरे पनि त्यो सफल हुन भने नसकेको उहाँको भनाइ छ। उहाँको सडक दुर्घटना कम गर्न ट्राफिक प्रहरी मात्र नभई सबै पक्ष उत्तिकै जिम्मेवार हुनुपर्ने तर्क छ। 

    दुर्घटना कुनै एक विशिष्ट एक कारणले हुने नभई यसमा धेरै तत्त्वले प्रभाव पारिरहेको बस व्यवसायीहरूको भनाइ छ। सबै घटनामा चालकलाई मात्र दोषारोपण गरे उम्किन नमिल्ने पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल बताउनु हुन्छ। उहाँले चालकलाई सबैभन्दा बढी कामको भार थपिएको बताउनुभयो। “चालकले बस चलाउनमा ध्यान दिनुपर्नेमा ऊ यात्रुदेखि अन्य कुराहरूमा व्यस्त हुने गरेको छ,” उहाँले भन्नुभयो, “यस्तोमा उसलाई दुर्घटना न्यूनीकरणभन्दा पनि यात्रु कसरी बढाउने र कसरी रकम कमाउनेमै ध्यान जाने गरेको छ।”

    अहिले यात्रुको चाप भन्दा सवारी साधनको चाप बढी भएको कारण चालकलाई यात्रु कसरी बढाउन सकिन्छ भन्ने मानसिक तनाव रहेको उहाँको भनाइ छ। यसबाहेक ट्राफिक प्रहरीले एउटै प्रदेशमा १० स्थानमा जाँच गरेर चालकलाई आक्रान्त बनाएको उहाँको आरोप छ। जरिवाना उठाउने सरकारको नीति पनि दुर्घटनाको कारक रहेको हुँदा प्रदेशले कति जरिवाना उठाउने भन्ने निक्र्याैल हुनुपर्ने धारणा राख्नुभयो। खरेलले ट्राफिक व्यवस्थापन व्यवस्थित गर्नका लागि कार्य योजना बनाई स–साना कुरामा ध्यान दिनुपर्ने सुझाव दिनुभयो।

    लुम्बिनी प्रदेशमा आव २०७७/७८ मा १ हजार २ सय १२ दुर्घटनामा परी ५ सय २७ जनाले ज्यान गुमाएका थिए। सोही आर्थिक वर्षमा १ हजार ८३ जना गम्भीर घाइते र ७ सय ४० जना सामान्य घाइते भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको तथ्याङ्कले देखाएको छ। आव २०७८/७९ मा १ हजार १ सय ६४ सवारी दुर्घटनामा परी ५ सय ५१ जनाले ज्यान गुमाउनाका साथै १ हजार १ सय २३ जना गम्भीर घाइते तथा ५ सय १७ जना सामान्य घाइते भएका थिए।

    आव २०७९/८० मा भने ८ सय ९२  सवारी दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या ४ सय ६२ रहेको थियो। सो आर्थिक वर्षमा ७ सय ९९ जना गम्भीर घाइते तथा ४ सय ७७ जना सामान्य घाइते भएको तथ्याङ्कमा उल्लेख छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ