भदौं २८,काठमाडौं : काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाह यसवर्षका सयौं उदयीमान व्यक्तिको सूचीमा छनोट भएका छन्। प्रतिष्ठित टाइम म्यागजिनले तयार पारेको सन् २०२३ को टाइम हन्ड्रेड नेस्क्ट’ विश्वका उदीयमान सय नेताको सूचीमा मेयर शाहलाई पनि समावेश छन्।
विनाशकारी भूकम्पको समयमा बालेनले जनताको साना तथा अत्यावश्यक समाधानमा जोड दिएको उल्लेख गर्दै म्यागजिनले फोहोर विसर्जन, सरसफाइ, सुरक्षित पिउने पानी, सफा सडक र सहरी विकाससँगै सांस्कृतिक सम्पदाको संरक्षणमा शाहले योगदान दिएको बताएको छ।
बालेनकै प्रभावको आलोकमा ३ सय ८५ जना स्वतन्त्रहरूले पुराना र पाका उम्मेदवारहरूलाई पाखा लगाएको पनि टाइमले उल्लेख गरेको छ। बालेनले ल्यान्डफिल साइट प्रयोग गर्न विभिन्न सम्झौतामा हस्ताक्षर गरेको र फोहोरको वर्गीकरण पनि थालेकोसमेत उल्लेख छ।
द न्युयोर्क टाइम्सले ५ महिनाअघि शाहबारे प्रोफाइल पनि प्रकाशित गरेको थियो। टाइम म्यागजिनले शाहले पालिका चुनावमा हासिल गरेको अप्रत्याशित जितको चर्चा गरेको छ।
३३ वर्षीय स्वतन्त्र उम्मेदवार शाहले सामाजिक सञ्जालको प्रयोग गरेर मतदाताको निराशालाई पक्रँदै ‘बालेन प्रभाव’ सिर्जना गरेको जिकिर गरेको छ।
टाइम म्यागेजिनले कलकार, प्रतिभावान पपगायक, अन्वेषक, नेता र वकालतजस्ता विधाबाट पनि प्रतिभाशाली र प्रभावशाली सय जना व्यक्तित्व छनोट गरी सूचीकृत गरेको छ।



