भदौं २९, काठमाडौं : पाकिस्तानलाई हराउँदै श्रीलंका एसीसी एसिया कप क्रिकेटको फाइनलमा पुगेको छ। सुपर फोर अन्तर्गत बिहीबार भएको खेलमा पाकिस्तानलाई २ विकेटले पराजित गर्दै घरेलु टोली श्रीलंकाले फाइनलमा स्थान सुरक्षित गरेको हो।
पाकिस्तानले दिएको २५२ रनको लक्ष्य श्रीलंकाले निर्धारित ४२ ओभरको अन्तिम बलमा पुरा गर्यो। वर्षाले प्रभावित हुँदा ४२/४२ ओभर खेलाइएको यस खेलमा डक वर्थ लुइस नियम अनुसार श्रीलंकालाई ४२ ओभरमा २५२ रनको लक्ष्य दिइएको थियो।
श्रीलंकाका लागि कुसल मेडिन्सले सर्बाधिक ९१ रन, सडीरा समाराविक्रमाले ४८ रन बनाएका थिए।अन्तिम २ बलमा जितको लागि ६ रन चाहिँएको थियो। चरिथले पाँचौं बलमा चौका र अन्तिम बलमा दुई रन बटुल्दै श्रीलंकालाई फाइनल पुर्याएका थिए।
बलिङमा पाकिस्तान लागि इफ्तिखार अहमदले ३, शाहिन शाह अफ्रिदीले २ तथा शादाव खानले १ विकेट लिएका थिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ४२ ओभरमा ७ विकेट गुमाएर २ सय ५२ रन बनाएको थियो। पाकिस्तानका मोहमद रिजवानले सर्बाधिक ८६ रन, अब्दुल्लाह शाफिकले ५२ रन, इफ्तिखार अहमदले ४७ रन बनाएका थिए।
बलिङमा श्रीलंकाका लागि मथिसा पथिरानाले ३ तथा प्रमोद मधुशनले २ विकेट लिएका थिए।
सुपर फोरको अन्तिम खेलमा आज भारत र बंगलादेश खेल्ने छन्।अब उपाधिका लागि आइतबार श्रीलंकाले भारतसँग खेल्नेछ।



