भदौं २९, काठमाडौं : एशिया महादेशको सर्वोच्च प्रतियोगिता हो, एसियाली खेलकुद। यसलाई एसियाड पनि भन्ने गरिन्छ। छिमेकी मुलुक चीनको हाङझावमा आगामी असोज ६ देखि २१ गतेसम्म एसियाडको १९ औँ संस्करण हुँदैछ।
यसपटकको एसियाडमा नेपालले २९ खेलमा भाग लिएको उक्त प्रतियोगितामा १२७ महिला र १६ पुरुष गरी दुई सय ५३ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताका लागि बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई सरकारले बिहीबार औपचारिक बिदाइसमेत गरेको छ।
प्रतियोगिताका लागि पोखरामा चार खेलको बन्द प्रशिक्षण सञ्चालन भयो भने अन्य खेलका लागि राजधानी काठमाडौँ तथा देश बाहिर पनि प्रशिक्षण गरिएको थियो। महिला ह्याण्डबल, पुरुष रग्बी, आर्चरी र भारत्तोलन खेलका खेलाडीले पोखरामा दुई महिना प्रशिक्षण गरेका हुन्।
प्रतियोगिताका लागि नेपाली खेलाडी उत्साहित र आत्मविश्वासी देखिएका छन्। नेपालले सुरुआतदेखिनै उक्त प्रतियोगितामा सहभागिता जनाउँदै आएकाले खेलाडीका लागि प्रतियोगिता नौलो रहेन।
एशिया महादेशका ठूला र सम्पन्न राष्ट्रबीचको प्रतिस्पर्धामा नेपालले त्यति ठूलो सफलताको आस नगरेपनि विगतका तुलनामा राम्रो गर्नेमा खेलाडी आशावादी छन् प्रदर्शन सुधार हुने र बलियो चुनौती पेश गरिनेमा खेलाडी दृढ छन् । विगतको भन्दा केही राम्रो गर्नेमा उनीहरु विश्वस्त देखिएका हुन्। नेपालले प्रतियोगितामा अहिलेसम्म स्वर्ण पदक जित्न नसके पनि रजत र कास्य पदकमा सीमित हुँदै आएको छ।
नेपाली महिला ह्याण्डबल टोलीका उपकप्तान उमा राईले एसियाडका लागि टोलीका सबै सदस्य उत्साहित रहेको बताउनुभयो। महिला ह्याण्डबलले पहिलोपटक एसियाडमा ‘डेब्यु’ गर्दैछ।
पदकको सपना देखेर खेलाडी मैदानमा उत्रिने उहाँको भनाइ थियो। प्रतियोगिता पदकका लागि हुने भए पनि पहिलो सहभागिता र अन्य देश बलियो रहेकाले आफूहरुले सक्दो मिहिनेत गरेर राम्रो प्रदर्शन गर्ने उपकप्तान राईले जानकारी दिनुभयो।
“मेडल ल्याउने कोसिस गर्नेछौँ, नसके पनि प्रदर्शन राम्रो गर्दै राम्रो स्थान हासिल गर्नेछौँ। सबै जनाले आफ्नो तर्फबाट कोसिस गरेर राम्रो परिणाम ल्याउनेमा आशा गरेका छौैँ”, उहाँले भन्नुभयो। कतिपय खेलाडीले यस प्रतियोगितालाई ओलम्पिकसँग समेत तुलना गरेका छन्।
ओलम्पिकका कतिपय खेलमा एशियाली मुलुकले उपाधि जितेकाले त्यही स्तरको देशसँग एसियाडमा खेल्न पाउँदा ओलम्पिकमा प्रतिस्पर्धा गरेको अनुभूति हुने आर्चरीका खेलाडी योगेन्द्र शेरचनले बताउनुभयो।
उहाँ एसियाडमा आर्चरीको ‘कम्पाउण्ड’ विधामा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ। यसपटकको लक्ष्य सेमिफाइनलमा स्थान बनाउने र पदक पनि जित्ने रहेको शेरचनको भनाइ थियो। उहाँले भन्नुभयो, “ओलम्पिकमा एशियाली देशनै सेमिफाइनल पुग्ने गरेकाले एसियाडमा पनि ओलम्पिकजस्तै लागेको छ। हामीले प्रतियोगितामा कडा मिहिनेत गर्नेछौँ, खेलप्रेमी नेपालीलाई खुसी बनाउनेछौँ।”
महिला राष्ट्रिय ह्याण्डबल टोलीका प्रशिक्षक विन्दा थापाले आफ्नो टोलीका सबै खेलाडी एशियाडका लागि उत्साहित रहेको उल्लेख गर्नुभयो। पोखराका दुई महिना लामो बन्द प्रशिक्षणले उत्साह थपेको उहाँको भनाइ थियो। महिला ह्याण्डबल टोलीलाई बिहीबार पोखराबाट बिदाइ गरिएको थियो । प्रतियोगिताका लागि टोली काठमाडौँ प्रस्थान गरेको छ।
प्रतियोगितामा पहिलो पटकको सहभागिताले खेलाडी उत्साहित भएको र नेपाली महिला ह्याण्डबल अन्तर्राष्ट्रिय खेलकुदमा प्रवेश गर्नु ठूलो अवसर रहेको प्रशिक्षक थापाको भनाइ थियो। “एसियाडका लागि हाम्रो सम्पूर्ण टोली उत्साहित छ। सबैले राम्रो गर्ने सङ्कल्प गरेकाले आशा गरौँ, हामीले सबैलाई खुसी दिन सफल हुनेछौँ।”रासस



