२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

रु २१ करोडको लगानीमा  शीत भण्डार निर्माण

images

  • २०८० फागुन ६, आइतबार
  • 1.0K
    SHARES
  • रु २१ करोडको लगानीमा  शीत भण्डार निर्माण

    नवलपरासी : पश्चिम नवलपरासीमै पहिलो पटक आधुनिक प्रविधिसहितको शीत भण्डार निर्माण भएपछि किसान उत्साहित भएका छन्। जिल्ला सहकारी सङ्घको अगुवाइमा सङ्घीय सरकार, स्थानीय तह र जिल्लाका विभिन्न सहकारीको रु २१ करोडको लागतमा आधुनिक प्रविधिसहितको ३ हजार मेट्रिक टन क्षमताको शीत भण्डार निर्माण भएको हो।

    शीत भण्डार सञ्चालनका लागि छुट्टै कार्यविधि र समिति बनाएर काम गर्ने सहकारी सङ्घको योजना छ। सञ्चालनको अन्तिम तयारीमा रहेको छुट्टाछुट्टै चेम्बरसहितको ३ तले शीत भण्डारमा किसानको आकर्षण बढेको देखिन्छ। अब सुनवलमै शीत भण्डार निर्माण भएपछि व्यावसायिक खेती गर्ने किसान उत्साहित भएको सुनवल–२ का लोकनाथ भण्डारीले बताउनुभयो।

    उहाँले भन्नुभयो, “अब कमसेकम केही उपज बढी भए राखौँ भन्नका लागि शीत भण्डार छ, म खुसी छु।” यस वर्षदेखि शीत भण्डार सञ्चालन आउने भएपछि धेरै किसान खुसी भएका छन्। कृषि सहकारीले समेत ठुलो क्षेत्रफलमा खेती गर्न थालेका छन्।

    “शीत भण्डार सबै एक ठाउँमा बनाउन पनि सकिँदैन, कुनै ठाउँ विशेषमा बनाएर सबैको साझा प्रयोग गर्ने केन्द्रका रूपमा विकास गर्नुपर्छ”, जिल्ला सहकारी सङ्घका अध्यक्ष विष्णु पौडेलले भन्नुभयो,“ठुलो क्षमताको शीत भण्डार भएकाले उत्पादनमा वृद्धि गर्न अभियानका रूपमा कार्यक्रम सञ्चालन गर्ने योजना सहकारी सङ्घको छ।”

    जिल्ला सहकारी सङ्घका कोषाध्यक्ष हैदर अलि मोमिनले स्थानीय तहदेखि तीनै तहका सरकार कृषिमैत्री नबन्दा शीत भण्डार सञ्चालनमा चुनौती थपिएको तर्क गर्नुभयो। “जिल्लाका सात स्थानीय तह कोही पनि कृषि र किसानप्रति जिम्मेवार छैनन्, व्यावसायिक कृषिमा जोड दिएर उत्पादन बढाउनेतर्फ उनीहरूको ध्यान नै छैन”, उहाँले भन्नुभयो। 

    शीत भण्डार निर्माण भए पनि अझै रु दुई करोड भुक्तानी गर्न बाँकी छ। एकातर्फ सञ्चालन खर्च र अर्कातर्फ कृषि उपजको अभावले शीत भण्डार सञ्चालन चुनौतीपूर्ण बनेको हो। पाल्पा, रुपन्देहीलगायत जिल्लाका उत्पादनलाई पनि समेट्ने गरी अभियान सञ्चालन गर्ने पौडेलले बताउनुभयो। “पहाडी जिल्लाका उत्पादन पनि सुनवलसम्म झार्ने र जिल्लाका उद्योग कलकारखानासँग पनि सम्पर्क गरी उनीहरूका सामान शीत भण्डारमा राख्ने गरी योजना बनाउँदै छौँ”, उहाँले भन्नुभयो।

    नवलपरासीका ७ स्थानीय तहले चालु आर्थिक वर्षमा सङ्घीय र प्रदेश सरकारको सर्शत अनुदानसहित रु १६ करोड बढी रकम कृषिमा छुटाएका छन्। तर योजनाबद्ध कार्यक्रम नआउँदा बजेट बालुवामा पानीसरह भएको सरोकारवालाको गुनासो छ। छिमेकी जिल्लाका उत्पादनसमेत भण्डारण गर्ने क्षमताका शीत भण्डारलाई लक्षित गरेर उत्पादन वृद्धि गर्नसके किसानले मनग्य लाभ लिन सक्ने जनाइएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ