२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

मुगुमा पहिलोपटक पेट्रोल पम्प सञ्चालन, इन्धनका लागि बाहिरी जिल्ला धाउनुपर्ने बाध्यता घट्ने

images

  • २०८३ असोज २५, आइतबार
  • 266
    SHARES
  • मुगुमा पहिलोपटक पेट्रोल पम्प सञ्चालन, इन्धनका लागि बाहिरी जिल्ला धाउनुपर्ने बाध्यता घट्ने

    मुगु : मुगु जिल्लामा पहिलोपटक पेट्रोल पम्प सञ्चालनमा आएको छ। छायानाथ रारा नगरपालिका–१, तुमगाउँको ग्रेनीमा स्थापना गरिएको अनुशा फ्युल सप्लायर्स एन्ड डिस्ट्रिब्युटर्स प्रालिले आइतबारदेखि औपचारिक रूपमा इन्धन बिक्री सुरु गरेको हो।

    पेट्रोल पम्प सञ्चालनमा आएपछि मुगुका स्थानीयवासी तथा सवारीसाधन चालकलाई पेट्रोल र डिजेल खरिद गर्न सहज हुने अपेक्षा गरिएको छ। यसअघि इन्धन भर्न नेपालगन्ज र सुर्खेतजस्ता सहरबाट जर्किनमा पेट्रोल तथा डिजेल ल्याउनुपर्ने बाध्यता थियो। विशेषगरी नाग्म–गमगढी सडकमा आवतजावत गर्ने चालकले इन्धन व्यवस्थापनका लागि लामो दूरी तय गर्नुपर्ने अवस्था थियो।

    फ्युल सप्लायर्सका सञ्चालक नेता प्रसाद चौलागाईंका अनुसार पेट्रोल पम्प निर्माणको काम २०८० साल कात्तिकमा सुरु गरिएको थियो। आवश्यक पूर्वाधार निर्माण तथा सरकारी प्रक्रिया पूरा गरी सेवा सञ्चालनमा ल्याउन करिब तीन वर्ष लागेको उहाँले बताउनुभयो। दुर्गम भौगोलिक अवस्था र निर्माण सामग्री व्यवस्थापनमा देखिएका कठिनाइले काम सम्पन्न गर्न चुनौती थपेको उहाँको भनाइ छ।

    पम्पमा पेट्रोल र डिजेल भण्डारण गर्न १२–१२ हजार लिटर क्षमताका छुट्टाछुट्टै ट्याङ्की जडान गरिएका छन्। सञ्चालक चौलागाईंका अनुसार हाल पम्पबाट दैनिक करिब ४०० देखि ५०० लिटर डिजेल र १०० देखि २०० लिटरसम्म पेट्रोल बिक्री भइरहेको छ।

    पेट्रोल पम्प स्थापना गर्न तीन करोड रुपैयाँभन्दा बढी लगानी भएको सञ्चालक चौलागाईंले जानकारी दिनुभयो। पम्प सञ्चालनसँगै स्थानीयस्तरमा तीन जनाले प्रत्यक्ष रोजगारीसमेत पाएका छन्।

    फ्युल सप्लायर्सका कर्मचारी रामकृष्ण चौलागाईंले जिल्लामै इन्धन बिक्री सुरु भएपछि स्थानीयलाई ठूलो राहत मिलेको बताउनुभयो। उहाँका अनुसार यसले इन्धन खरिदका लागि बाहिरी जिल्लामा जानुपर्ने झन्झट घटाउनुका साथै स्थानीय रोजगारीमा पनि योगदान पुर्‍याएको छ।

    समाजसेवी देवबहादुर मल्लले मुगुमा पेट्रोल पम्प स्थापना हुनु जिल्लाको यातायात तथा आर्थिक गतिविधिका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताउनुभयो। उहाँले यसबाट सवारी आवागमन सहज हुनुका साथै स्थानीय युवाले रोजगारीका अवसर पाउने सम्भावना बढ्ने उल्लेख गर्नुभयो।

    दैलेखका सवारीचालक कमलबहादुर रोकायाले मुगुमै पेट्रोल पम्प सञ्चालनमा आएपछि इन्धनका लागि अन्य जिल्लामा निर्भर हुनुपर्ने अवस्था कम हुने बताउनुभयो। यसअघि लामो यात्राका क्रममा जर्किनमा इन्धन बोकेर ल्याउनुपर्ने र त्यसले जोखिमसमेत निम्त्याउने गरेको उहाँको अनुभव छ।

    मुगुमा पहिलो पेट्रोल पम्प सञ्चालनमा आउनुलाई स्थानीयले इन्धन आपूर्ति सहज बनाउने र यातायात क्षेत्रलाई सहयोग पुर्‍याउने महत्त्वपूर्ण कदमका रूपमा लिएका छन्। नियमित इन्धन उपलब्धताले जिल्लाको आवागमन, स्थानीय व्यवसाय र आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ