२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

चितवनमा ७ सय खोप केन्द्रबाट १ लाख ६१ हजार बालबालिकालाई दादुरा-रुवेलाको खोप दिइँदै

images

  • २०८० फागुन ६, आइतबार
  • 1.0K
    SHARES
  • चितवनमा ७ सय खोप केन्द्रबाट १ लाख ६१ हजार बालबालिकालाई दादुरा-रुवेलाको खोप दिइँदै

    चितवन : १ लाख ६१ हजार बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइने भएको छ। ९ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउन लागिएको हो। 

    स्वास्थ्य कार्यालय चितवनका अनुसार ७ सय खोप केन्द्रबाट उनीहरूलाई खोप दिन लागिएको कार्यालयका क्षय–कुष्ठ अधिकृत जयराम दुवाडीले जानकारी दिनुभयो। उहाँका अनुसार अभियानकै क्रममा नियमित खोप छुटेका आठ सय हाराहारीका बालबालिकालाई छुट खोप दिइने छ। 

    यही फागुन १३ गतेदेखि चैत १ गतेसम्म सञ्चालन हुने उक्त अभियानमा १ हजार ६ सय स्वास्थ्यकर्मी र २ हजार २ सय स्वयंसेवक परिचालन गरिने छ। स्वास्थ्य कार्यालय चितवनले अभियानलाई २ चरणमा विभाजन गरेर सञ्चालन गर्न लागेको उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार पहिलो चरणमा भरतपुर महानगरपालिका, माडी नगरपालिका र इच्छा कामना गाउँपालिकामा १३ गते देखि २२ गते सम्म अभियान सञ्चालन हुने छ। 

    अन्यमा राप्ती खैरहनी, रत्न नगर र कालिका नगरपालिकामा भने दोस्रो चरणमा फागुन २३ गतेदेखि चैत १ गतेसम्म सञ्चालन हुने कार्यालयले जनाएको छ। प्रत्येक दिन ६ घण्टा खोप सञ्चालन गरिने छ। जिल्लामा विसं २०७९ मङ्सिर ३ गते देखि २०८० पुस १५ गते सम्म ५२ जनामा दादुरा रुवेला रोगको सङ्क्रमण देखिएको छ। जिल्लामा भेटिएका सङ्क्रमितमध्ये अधिकांश इच्छा कामना गाउँपालिकाका रहेका रहेका छन्। 

    केही सङ्ख्यामा राप्ती नगरपालिकामा समेत यो रोगको सङ्क्रमण रहेको दुवाडीले बताउनुभयो। गर्भवती, एड्स सङ्क्रमित, केमोथेरापी वा उच्च क्षमताको औषधि सेवन गरिरहेका र कडा खालको ज्वरो भएका बालबालिकालाई यो खोप लगाउन मिल्दैन। २ सय ५० जनाभन्दा बढी बालबालिका भएका संस्थागत र सामुदायिक विद्यालयमा खोप केन्द्र रहने कार्यालयका प्रमुख दिनेश रुपाखेतीले जानकारी दिनुभयो।  

    विद्यालय नभएका ठाउँमा पनि खोप केन्द्र रहने छन्। यसैगरी सहरका घना बस्ती, सुकुम्वासी बस्ती, उद्योग, कारखाना, बाल मन्दिर, अनाथ आश्रम, इँटा भट्टा, अन्तर देशीय सीमा, बसपार्क जस्ता ठाउँमा पनि खोप केन्द्र राखेर सेवा दिइने उहाँले जानकारी दिनुभयो ।

    खोप केन्द्र निर्धारण गर्दा गाउँपालिकाको प्रत्येक वडामा कम्तीमा एउटा, नगरपालिकाको प्रत्येक वडामा कम्तीमा २ वटा, उप-महानगरपालिकाको प्रत्येक वडामा कम्तीमा ३ वटा र महानगरपालिकाका प्रत्येक वडामा कम्तीमा चार वटा खोप केन्द्र रहने व्यवस्था रहेको छ। अभियानको क्रममा नौ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई दादुरा–रुबेला खोपका अतिरिक्त डिपिटि–हेप बी–हिव, पिसिभी र आईपिभि खोप लगाइने छ।  

    दादुरा रुबेला खोप अभियानको लक्ष्य लक्षित उमेरका बालबालिकालाई दादुरा रुबेला खोप लगाएर दादुरा र रुबेला रोगविरुद्ध प्रतिरोधात्मक क्षमता अभिवृद्धि गरी ती रोगबाट सङ्क्रमण हुनसक्ने सम्भावनालाई न्यूनीकरण गर्ने रहेको उहाँको भनाइ छ। ५ वर्ष मुनिका बालबालिकाको नियमित खोपको अवस्था पहिचान गरेर छुट भएका नियमित खोपको मात्रा लगाउन सहजीकरण गर्ने अभियानको उद्देश्य रहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ