काठमाडौँ : नेशनल लाइफ इन्स्योरेन्स ३७ औँ वर्षमा प्रवेश गरेको छ। वि.स २०४४ फागुन १० गते नेपालमा बीमा व्यवसाय सञ्चालन गरेको नेशनल लाइफ इन्स्योरेन्स सुरुमा जीवन र निर्जीवन दुवै प्रकृतिको व्यवसाय थालनी गरेको थियो। वि.स २०६१ सालदेखि जीवन बीमा व्यवसाय नेशनल लाइफ इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स नामको निर्जीवन कम्पनी खडा गरेर बीमा व्यवसाय गर्दै आएको हो।
आम सर्वसाधारणलाई घरदैलोमा नै जीवन बीमा सेवा दिने उद्देश्यले स्थापना भएको नेपालकै पहिलो निजी क्षेत्रका जीवन बीमा कम्पनीले ३७ वार्षिकोत्सवको अवसरमा बीमितलाई अधिकतम बोनस र लगानीकर्ताहरूलाई उच्चतम प्रतिफल दिने प्रतिबद्धता जाहेर गरेको छ। बोनसदारको आधारमा सर्वोत्कृष्ट बोनस दिँदै आएको कम्पनीले आगामी दिनमा अझै सुधार गरेर बीमितलाई अधिकतम लाभ दिने प्रतिबद्धता जनाएको छ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको चुक्ता पुँजी ५ अर्ब १ करोड रुपैयाँ रहेको छ भने जीवन बीमा कोषमा ६५ अर्ब ७८ करोड रुपैयाँ जम्मा भइसकेको छ। चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कम्पनीले ८ अर्ब ३८ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी १०.१८ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १३२.२१ रुपैयाँ रहेको छ। कम्पनीको पिई रेसियो ५९.२२ र प्रतिशेयर कूल सम्पत्तिको मूल्य १६१०.१५ रुपैयाँ रहेको छ।
वार्षिकोत्सवको अवसरमा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले नेशनल लाइफ इन्स्योरेन्स कम्पनीलाई आजको अवस्थामा पुर्याउन योगदान गर्ने सबै पूर्व सिईओ तथा अध्यक्षहरू, कर्मचारीहरू, बीमा गर्ने बीमितहरु तथा बीमा अभिकर्ता र नियामक निकायलाई धन्यवाद ज्ञापन गरेका छन्।
३७ औँ वार्षिकोत्सवको अवसरमा देशैभरि रक्तदान लगायतका कार्यक्रमहरू गरिने कम्पनीले जनाएको छ भने वृद्धाश्रममा पुगेर पनि खाना खुवाउने कार्यक्रमहरू रहेका कम्पनीले जनाएको छ।




