असोज ३,काठमाडौं: नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई कार्यशैली सच्याउन आग्रह गर्नु भएको छ । शेखर–गगन पक्षको बैठकको भोलिपल्ट बुधबार सभापति देउवालाई भेटेका शेखरले अहिलेको शैलीलाई सुधार गर्न आग्रह गर्नु भएको हो ।
शेखरसँगै उपसभापति धनराज गुरुङ र सहमहामन्त्री जीवन परियार सभापति देउवालाई भेट्न उहाँको निवास धुम्बाराही पुग्नु भएको थियो ।देउवासँगको भेटमा संस्थापनइतरका नेताहरुले कोशी प्रदेश, सरकारको प्रभावकारिता, सभापतिका निर्णय प्रक्रिया, संसदीय समितिको सभापति चयन, भ्रातृ संस्थाका पदाधिकारी तथा सदस्य चयनमा मनोमानी भएको बताएका थिए ।
‘देश र पार्टी कमजोर भएपनि यसबीचमा पार्टीभित्र गम्भीर छलफल नभएको शेखरले बताउनु भएको छ । ‘तपाईले आजदेखि कि कोर्स करेक्सन गर्नुस् । होइन भने हामी आफ्नो तरिकाले अघि बढ्छौं । तपाई आफ्नो तरिकाले चल्नुहुन्छ भने भेटेर के औचित्य रह्यो र ?’ देउवासँग शेखरको भनाइ उद्दृत गर्दै शेखर गगन पक्षका एक नेताले भने।
प्रतिउत्तरमा सभापति देउवाले सबैलाई मिलाएर जाने जवाफ दिएका थिए । सभापतिको जवाफ परम्परागत भएको संस्थापनइतरका ती नेताले बताए ।
संस्थापनइतरका एक नेताका अनुसार महामन्त्री गगन थापा र सहमहामन्त्री बद्री पाण्डेसहित सबै पदाधिकारीले देउवालाई भेट्ने तय भएको थियो । महामन्त्री थापा र सहमहामन्त्री पाण्डे बीपी साहित्य महोत्सवमा व्यस्त भएकाले जान नसकेको संस्थापनइतरका एक नेताले जानकारी दिए ।
‘हाम्रो समूहको बैठकमा सभापतिलाई भेटेर सबै कुरा जाहेर गर्ने निर्णय भएको थियो । धेरै कुरा शेखर दाइले सभापतिसँग राख्नुभएको छ’, संस्थापनइतरका एक नेताले भने ।
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक ४ असोजमा सुरु हुँदैछ । उक्त बैठअघि शेखर–गगन पक्षको मंगलबार बसेको बैठकले पार्टीमा देउवा पक्षले एकलौटी गरेको र गत साउनमा बसेको केन्द्रीय समितिले तय गरेको कार्यसूची प्रभावित हुने आशंका गरेका थिए ।



