काठमाडौँ : काठमाडौँ महानगरपालिकाले फोहरको उचित व्यवस्थापन गर्नका कम्पोष्टिङ एरिया बनाएको छ। टेकुमा रहेको डम्पिङ साइटमा गत माघ २१ गतेबाट महानगरको २७ नम्बर वडाबाट सङ्कलित कुहिने फोहरलाई कम्पोस्ट मल बनाउने प्रक्रियामा राखिएको छ। यसका लागि महानगरले वडा नं. २७ बाट सङ्कलन गरिएको करिब १४ हजार केजी जैविक टेकु ट्रान्सफर स्टेसनमा कम्पोष्टिङ गरेको हो।
काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभाग प्रमुख रविनमान श्रेष्ठका अनुसार टेकु र बन्चरे डाँडामा कम्पोस्ट मल बनाउने प्रक्रिया सुरु भएको छ। महानगरपालिका भित्रको फोहोरको प्रभावकारी व्यवस्थापन गर्न महानगरले यसअघि नै वर्गीकरण गरिएको फोहर मात्रै उठाउने निर्णय गरेको थियो तर प्राविधिक तयारी नभएको भन्दै पछि महानगर आफै पछि हटेको थियो।
वातावरण विभाग प्रमुख श्रेष्ठ भन्छन्, ‘महानगरबाट उत्पन्न हुने फोहरको वर्गीकरण गरेर कम्पोष्टिङ एरियासम्म पुर्याउन बेग्लै तयारी गर्नुपर्ने हुन्छ। सवारी साधन बेग्लै चाहियो, फोहर कलेक्सन गर्ने ठाउँको पनि महानगरलाई अभाव छ। प्राविधिक व्यक्ति पनि थप व्यवस्थापन गर्नुपर्ने हुन्छ।
यसैले पनि कम्पोस्ट मल बनाउने प्रक्रिया हामीले पालैपालो गर्देछौं। अहिले महानगरको २७ वडाबाट सुरु गरिएको हो।’ २७ नम्बर वडाका बासिन्दाबाट उत्पादन भएको फोहर अहिले वर्गीकरण गरेर मात्रै महानगरले उठाउने गरेको छ। उक्त वडामा वर्गीकरण नभएका फोहर नउठाइने श्रेष्ठले जानकारी दिए।
महानगर वातावरण विभागकी उपनिर्देशक सानुमैया महर्जनका अनुसार २७ नम्बर वडामा १४ सय घरधुरी र ५ हजार जनसङ्ख्या छन्। उक्त वडाबाट एक दिनमा ५०० केजी जैविक फोहोर उत्पादन हुन्छ। ३५ सय किलो जैविक फोहोरको एक पाइल बनाएर ४ पाइलमा १४ हजार केजी कम्पोस्ट मल तयारीको लागि प्रक्रिया सुरु गरिएको हो।
उपनिर्देशक महर्जनका अनुसार कम्पोस्ट मल बनाउने प्रक्रियामा राखिएको फोहोरलाई गन्धरहित बनाउनको लागि टोको जाई नामक ब्याक्टेरिया मिसाउने गरिन्छ। यो ब्याक्टेरियाले फोहोर कुहिएर लिचेड निस्कन नदिने महर्जनले बताइन्। यसरी कलेक्सन भएको फोहोरबाट २५ देखि ३० प्रतिशत मात्रै कम्पोस्ट मल बन्नेछ।
फोहोरलाई स्रोतमा वर्गीकरण गर्न थालेपछि जम्मा भएको फोहोरलाई छुट्टै सङ्कलन गर्न थालिएको छ। ढुवानी र व्यवस्थापन पनि छुट्टा-छुट्टैरुपमा गर्ने गरिएको छ। वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठ भन्छन्, ‘केही समय अगाडिदेखि नै महानगरको फोहर वर्गीकरण गर्ने भनिए पनि कम्पोष्टिङ गर्न ठाउँ तोकिएको थिएन। तर अब टेकु र बन्चररेडाँडामा पनि कम्पोस्ट मल बनाउने तयारी गरेका हौँ। सुरुवातमा २७ वडा अनि १२ नम्बर वडा ५ र ६ नम्बरमा पनि क्याम्पियनहरु भइरहेको उनले बताए।
श्रेष्ठले जैविक फोहर कम्पोष्टिङ गर्नलाई महानगरसँग प्रशस्त जग्गा नभएको बताउँदै पहिलो चरणमा टेकु अनि क्रमशः सिस डोल र बन्चरे डाँडामा पनि राख्ने तयारी रहेको बताए। महानगरले क्रमिक रूपमा सबै ठाउँमा फोहरको वर्गीकरण गरेर मात्रै सङ्कलन गर्ने उनले बताए। उनका अनुसार जैविक फोहोरबाट उत्पादन भएको कम्पोस्ट मल महानगरकै पार्क, तथा सडकका छेउछाउमा रहेका बोटबिरुवामा प्रयोग गरिनेछ। आवश्यकताभन्दा बढी उत्पादन गर्न सकिएमा कम्पोस्ट मल बिक्री वितरण गरिने उनले बताए।
आफ्नो एरियालाई हरियाली बनाउने महानगरको योजना रहेको श्रेष्ठले बताए। उनी भन्छन्, ‘निकै अगाडिदेखि महानगरको फोहोर फाल्ने डम्पिङ साइट रहेको बन्चरे डाँडा र सिस डोलमा पनि वृक्षारोपण गर्न तयारीमा महानगर छ। यसका लागि महानगरले पानीको व्यवस्थापन गरिसकेको छ। महानगरमा हरेक दिन उत्पादन हुने फोहोरमध्ये ४० देखि ५० प्रतिशत जैविक फोहर हुन्छ। पुनः प्रयोग गर्न सकिने फोहोरजन्य सामाग्री पनि बेग्लै सङ्कलन गरिने श्रेष्ठले जानकारी दिए।
#काठमाडौँ महानगरपालिका



