२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

आजदेखि सर्वसाधारणलाई सर्वोत्तम सिमेन्टको आइपीओ खुला, प्रति कित्ता ३६० रुपैयाँ ९० पैसा

images

  • २०८० फागुन १३, आइतबार
  • 1.3K
    SHARES
  • आजदेखि सर्वसाधारणलाई सर्वोत्तम सिमेन्टको आइपीओ खुला, प्रति कित्ता ३६० रुपैयाँ ९० पैसा

    काठमाडौँ : सर्वोत्तम सिमेन्ट लिमिटेडले आज फागुन १३ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात् अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।


    कम्पनीले स्थानीय बासिन्दाहरूका लागि निष्काशन गरेको शेयरमा आवेदन नपरेको ६ लाख ८१ हजार ५३० कित्ता सहित कुल २७ लाख ७६ हजार ७६ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो। शेयर निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बी प्रदान गरेको छ। यसले समयमा नै सुरक्षित रुपले वित्तयि दायित्व बहन गर्न मध्यम स्तरको क्षमता रहेको कम्पनी हो भन्ने बुझिन्छ।

    कम्पनीको आइपीओमा लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिनु पर्नेछ। लगानीकर्ताले न्यूनतम ५० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आइपीओमा छिटोमा फागुन १६ गतेसम्म आवेदन दिन सकिनेछ भने ढिलोमा फागुन २७ गतेसम्म आवेदन दिन सकिनेछ।

    कम्पनीको धितो पत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितो पत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूका साथै सिडिएस एण्ड क्लिरिङ्गद्वारा सञ्चालित सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी आवेदन दिन सक्नेछन्।

    कस्तो छ कम्पनी ?

    नवलपरासीको सुनवल नगरपालिकामा सर्वोत्तम सिमेन्ट उद्योग सञ्चालनमा छ। दैनिक ३ हजार टन सिमेन्ट र ३ हजार टन क्लिंकर उत्पादन क्षमताको उद्योग रहेको कम्पनीले सार्वजनिक गरेको आह्वान पत्रमा उल्लेख छ। पाल्पाको तिनाउ तथा निस्दी गाउँपालिकामा कम्पनीले चुनढुङ्गा खानीको अनुमति लिएको छ। यसका सहायक कम्पनीहरू सर्वोत्तम होल्डिङ्स र सर्वोत्तम इन्भेस्टमेन्ट कम्पनी सञ्चालनमा छन्।

    अर्थतन्त्रमा देखिएको शिथिलताले गर्दा निर्माण क्षेत्रमा परेको असरले सर्वोत्तम सिमेन्टको पनि बिक्री आम्दानी खस्केको छ। गत असार मसान्तसम्मको वित्तीय विवरण अनुसार कम्पनीको प्रतिसेयर नेटवर्क १८५ रुपैयाँ १९ पैसा छ भने प्रतिसेयर आम्दानी ५ रुपैयाँ १३ पैसा छ । सो अवधिसम्म कम्पनीको जगेडा कोष तीन अर्ब ४५ करोड रुपैयाँ बराबर छ।

    आर्थिक वर्ष २०७७/७८ मा ८ अर्ब ९३ करोड ७८ लाख पुगेको कम्पनीको सञ्चालन आम्दानी आर्थिक वर्ष २०७८/७९ मा ७ अर्ब ८८ करोड १५ लाखमा झरेको थियो। गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको सञ्चालन आम्दानी पाँच अर्ब ३८ करोड ३ लाखमा झरेको छ। सञ्चालन आम्दानीमा कमी आउँदा कम्पनीको नाफा प्रभावित बन्दै गएको छ। आर्थिक वर्ष २०७७/७८ मा १ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा कमाएको कम्पनीले २०७८/७९ मा ४६ करोड ७६ लाख र २०७९/८० मा २० करोड ७५ लाख मात्रै खुद नाफा कमाएको छ।

    कम्पनी समयमा नै वित्तीय दायित्व वहन गर्न मध्यम स्तरको क्षमतामा रहेको जनाउँछ। इक्राले सबैभन्दा सुरक्षित कम्पनीलाई ट्रिपल ए रेटिङ प्रदान गर्दछ भने कमजोर स्तरको कम्पनीलाई डी रेटिङ प्रदान गर्दछ। २०७९/८० को अपरिष्कृत वित्तीय विवरण अनुसार असार मसान्तसम्म कम्पनीको दीर्घकालीन ऋणसहितको दायित्व ६५ करोड ५४ लाख रुपैयाँ छ।

    कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि ३ वर्ष ९ महिना रहेको र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि ४ वर्ष ७ महिना प्रक्षेपण छ। इक्रा नेपालले कम्पनीलाई ट्रिपल बी रेटिङ प्रदान गरेको छ। चालु पुँजी प्रकृतिको दायित्व ३ अर्ब ३५ करोड रुपैयाँसहित कुल चालु दायित्व ५ अर्ब ११ करोड रुपैयाँ रहेको विवरण पत्रमा उल्लेख छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ