२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

वैदेशिक रोजगारीबाट फर्किएर माछा पालन, मासिक डेढ लाख आम्दानी

images

  • २०८० फागुन १४, सोमबार
  • 1.4K
    SHARES
  • वैदेशिक रोजगारीबाट फर्किएर माछा पालन, मासिक डेढ लाख आम्दानी

    सोलुखुम्बु : अवसरको खोजी गर्दै विदेशी भूमिमा पाइला टेक्नेहरूको सङ्ख्या दिनानुदिन बढ्दो छ। हरेक दिन १ हजार ५ सयभन्दा बढी युवा जनशक्ति हातमा पासपोर्ट बोकेर विदेशी मुलुकमा पाइला टेक्छन्।

    यही लहरोमा कुनै समय सोलुखुम्बु रोक्दिएका भलाकाजी राज भण्डारी पनि मिसिनुभयो। कुनै समय अवसर खोज्दै विदेश पुग्नुभयो। विसं २०६७ मा रोजगारीका लाग मलेसिया पुग्नुभएका उहाँले त्यहाँ करिब तीन वर्ष पसिना बगाउनुभयो। उहाँलाई लाग्यो, त्यहाँ बगाउने पसिना गाउँमै बगाउन सक्ने हो भने धेरै काम गर्न सकिन्छ। यही सोचले स्वदेश फर्कनुभएका उहाँ यति बेला गाउँमै माछा पालनमा रमाउनुभएको छ।

    “जागिरको खोजीमा म विदेश जाँदिन। एक पटक अज्ञानमा विदेश गइयो। विदेश के रहेछ र त्यहाँको दुःख के हो भन्ने बुझ्नै मौका पनि मिल्यो”, उहाँले भन्नुभयो, “अहिले स्वदेशमै पुग्दो छ।” उहाँ माछा पालनबाट मासिक सबै खर्च कटाएर रु १ लाख ५० हजार बचत भइरहेको बताउनुभयो। “दैनिक औसतमा रु १५ हजारको कारोबार हुन्छ। त्यसबाट रु ५ हजार जति बचत हुन्छ”, उहाँले भन्नुभयो। 

    सोलुदुधकुण्ड नगरपालिका-४ रोक्दिङमा करिब चार रोपनी क्षेत्रफलमा निर्माण गरिएको पोखरीमा ‘ट्राउट’ माछा पालन गर्दै आउनुभएका उहाँसँग अहिले ४० हजारभन्दा बढी माछाका भुराहरू छन्। उहाँले माछा पालनका लागि दश वटा पोखरी निर्माण गर्नुभएको छ।

    “विदेशबाट फर्किपछि अन्य काम गरिरहेको थिए। कमाइ पनि ठिकै थियो। कोरोना महामारीका कारण बन्दाबन्दी लागू भएपछि भने आम्दानी ठप्प भयो”, उहाँले भन्नुभयो, “सबै काम ठप्प भएपछि माछा पालनको योजना बनाएको हुँ।” सुरुमा माछा पालनको योजना सुनाउँदा धेरैले हुँदैन भन्ने गरे पनि अहिले माछा पालनबाट आम्दानी हुन थालेपछि भने प्रशंसा गर्ने गरेको उहाँले सुनाउनुभयो। “सोलु जस्तै चिसो ठाउँमा माछा पालन हुन्न भन्ने धेरै थिए”, उहाँले भन्नुभयो।

    राज भण्डारी अहिले दैनिक १८ घण्टासम्म माछा पालनमै रमाउनु हुन्छ। विस २०७७ सालबाट सुरु गरेको माछा पालनमा हालसम्म रु एक करोड लगानी भइसकेको छ। उहाँले माछा पालनसँगै रोक्दिङमा होटेल पनि सञ्चालन गरिरहनु भएको छ। माछा खरिद गरी लैजाने भन्दा पनि माछाका परिकार खान आउनेहरू धेरै रहेको उहाँको भनाइ छ। सदरमुकाम सल्लेरीबाट ट्राउट माछा खान आउनेहरू धेरै रहेको उहाँले सुनाउनुभयो। 

    फाल्लुका दिनेश राई खोलामा माछा पातलिँदै गएपछि मानिसहरू माछाको स्वाद दिन यहाँसम्म आउने गरेको बताउनुहुन्छ। “माछा खान रुचाउने मानिसहरूको सङ्ख्या बढ्दो छ। तर खोलामा माछा हराउँदै गएका छन्। अब पालेको माछा खालुको विकल्प छैन”, उहाँले भन्नुभयो। 

    जिल्लामा ट्राउट माछा प्रतिकिलो रु एक हजार छ सयमा बिक्री भइरहेको छ। यहाँ उत्पादन हुने माछा लुक्ला, नाम्चेलगायतका क्षेत्रमा बढी खपत हुने गरेको उहाँको भनाइ छ। चिसो ठाउँमा हुर्किएको माछा उपभोक्ताले बढी रुचाउने गरेको राज भण्डारीको अनुभव छ। हाल जिल्लाको अन्य चार स्थानमा पनि व्यावसायिक माछा पालन भइरहेको छ। तामा खानी, बेनी, साल्मे, सल्लेरीमा ट्राउट माछा पालन भइरहेको हो। 

    बजारको चिन्ता छैन


    यहाँ उत्पादन हुने माछा जिल्लामै  खपत हुने गरेको छ। राज भण्डारी माग नै धान्न नसकिने अवस्था रहेको बताउनुहुन्छ। यहाँ उत्पादन भएका माछाले माग धान्न नसकेर कतिपय होटलहरुमा बाहिरबाट समेत माछा ल्याउने गरिएको उहाँले बताउनुभयो। 

    माछा पालनमा एउटा समस्या भने छ। माछालाई रातको समयमा वन्यजन्तुहरूले आक्रमण गर्ने गरेको साल्मेका व्यवसायी भानुभक्त श्रेष्ठले सुनाउनुभयो। फार्ममा राति आउने सालकले एक पटकमा धेरै माछाहरू मार्ने गरेको भाइकाजी राजभण्डरीको भनाइ छ। 

    “केही हप्ता अघि मात्रै मेरो फार्ममा एकै पटक एक सयभन्दा बढी माछाहरू टाउको नभएको अवस्थामा भेटिए। हामी अचम्ममा पर्‍यौँ”, उहाँले भन्नुभयो, “पछि सिसी क्यामरा राखेपछि पोखरीको माछा सालकले खाने गरेको भेटियो।” रातको समयमा खोलाबाट आउने सालकले पोखरीमा प्रवेश गरी माछाको टाउको खाने गरेको पाइएको उहाँले बताउनुभयो।

    सालकले माछाको टाउको मात्रै खाने गरेको व्यवसायी कमल मगर बताउनुहुन्छ। राज भण्डारीले सिसी क्यामेरामा साइरन जडान गरेको र केही वस्तु पोखरीमा छिर्ने बित्तिकै साइरन बज्ने गरेको सुनाउनुभयो। माछा पालनमा वर्षातको समयमा आउने भलले पनि समस्या हुने गरेको छ। 

    जिल्लामा ट्राउटका लागि आवश्यक दाना ढुवानी चुनौतीपूर्ण छ। जिल्लामा दाना उत्पादन नहुने र दानाका लागि काठमाडौँबाट ल्याउनुपर्ने हुँदा महँगो पर्ने गरेको छ। काठमाडौँबाट दाना आयात गर्दा प्रतिकिलो रु २ सय ६६ पर्ने गरेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ