२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

६ महिनामा विद्युत् प्राधिकरणको नाफा १५ अर्ब ३६ करोड

images

  • २०८० फागुन १७, बिहीबार
  • 1.3K
    SHARES
  • ६ महिनामा विद्युत् प्राधिकरणको नाफा १५ अर्ब ३६ करोड

    काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। प्राधिकरणले यस आर्थिक वर्षको पुस मसान्तसम्ममा १५ अर्ब ३६ करोड रुपैयाँ खुद नाफा गरेको छ। 

    गत आर्थिक वर्षको सोही अवधिमा प्राधिकरणले १० अर्ब ९१ करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। प्राधिकरणले एकै वर्षमा ४०.७१ प्रतिशतले वृद्धि गरेको देखिन्छ। गत आर्थिक वर्षको पुस मसान्तसम्मको तुलनामा प्राधिकरणको नाफा चालु आवको सोही अवधिमा ४ अर्ब ४४ करोड ४६ लाख रुपैयाँले बढी हो। 

    आर्थिक वर्ष २०७२/०७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका निरन्तर नाफा आर्जन गरेको छ। प्राधिकरणको चालू आवको ६ महिनाको वित्तीय विवरण (अपरिष्कृत) अनुसार यस अवधिमा विद्युत् बिक्री, ब्याज तथा अन्य आम्दानीबाट कुल ६७ अर्ब २८ करोड ७७ लाख रुपैयाँ आम्दानी गरेको छ।

    विद्युत् खरिद, प्रशासनिक, आयोजना लगायतमा जम्मा ५१ अर्ब ९२ करोड ७१ लाख रुपैयाँ खर्च भएको छ।प्राधिकरणको मुख्य आम्दानी र खर्च क्रमशः विद्युत् बिक्री र खरिद तथा आयोजनामा हुने गरेको छ।

    प्राधिकरणले चालु आवको ६ महिनामा विद्युत् बिक्रीबाट ४५ अर्ब ४९ करोड ३८ लाख रुपैयाँ सङ्कलन गरेको छ। यस अवधिमा देशभित्रका ऊर्जा उत्पादकहरूबाट र भारतबाट आयात गरी ३० अर्ब ४८ करोड ५८ लाख रुपैयाँको विद्युत् खरिद गरिएको छ।

    प्राधिकरणका सहायक तथा सम्बद्ध कम्पनीहरूबाट २८ अर्ब ४९ करोड ९६ लाख र भारतबाट १ अर्ब ९८ करोड ६२ लाख रुपैयाँको विद्युत् आयात गरिएको हो । समीक्षा अवधिमा सरकारमार्फत विनियोजन गरिएको वैदेशिकतर्फ ९ अर्ब ३ करोड ८४ लाख रुपैयाँ खर्च भएको छ।

    विद्युत् चुहावट नियन्त्रण, आन्तरिक रूपमा तथा भारतर्फको  विद्युत् निर्यात बढ्दा आम्दानीमा भएको वृद्धि, खर्च नियन्त्रणलगायतले  चालू आवको पहिलो ६ महिनामा उल्लेख्य नाफा कमाउन सफल भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनु भयो। 

    ‘बजेट सीमितताका कारण सरकारबाट लगानीका लागि पर्याप्त रकम पाउन सकिरहेका छैनौँ, यस्तो जटिल अवस्थामा संस्थाले कमाएको नाफाबाट विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधार विस्तार तथा सुदृढीकरण, विद्युती करण तर्फका आयोजनाहरूमा हरेक वर्ष अर्बौँ रुपैयाँ लगानी गरिरहेका छौँ’,कार्यकारी निर्देशक घिसिङले भने  ‘विद्युतमा आत्मनिर्भर बन्न, आन्तरिक रूपमा खपत बढाउन र उपभोक्तालाई गुणस्तरीय र भरपर्दो विद्युत् उपलब्ध गराउन उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाहरूमा आगामी वर्षहरूमा १०/१२ खर्ब रुपैयाँभन्दा बढीको लगानी आवश्यक पर्छ, नगद प्रवाहका लागि संस्थाको नाफाले मात्र पुग्दैन।’

    नेपाल विद्युत् प्राधिकरणले प्राथमिक सेयर (आइपिओ) निष्कासनको तयारीमा गरिरहेको छ। नेपाल विद्युत् प्राधिकरणले ६० अर्बबराबरको प्राथमिक सेयर निष्कासन (आइपिओ) गर्ने भएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ