असोज १३, काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। आइतबार (भोलि) बिहान १ बजदेखि लागु हुने गरी मूल्य बढाइएको हो।
शनिबार बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिलिटर २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो। त्यस्तै ,हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रति लिटर ८ रुपैयाँ बढाइएको छ।
अब नयाँ बढेको मूल्य अनुसार पेट्रोल प्रतिलिटर १८५ रुपैयाँ, डिजेल र मट्टितेल १७९ रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ १४४ र अन्तर्राष्ट्रिय १.०९६ अमेरिकी डलर तथा खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २११० रुपैयाँ पर्नेछ।
पेट्रोलको मूल्य पहिलो वर्ग (चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज डिपोबाट बिक्री हुने ठाउँ)मा प्रतिलिटिर रु एक सय ८२ दशमलव पाँच, दोस्रो वर्ग (सुर्खेत र दाङ) मा रु एक सय ८४ र काठमाडौँ, पोखरा र दिपायलमा रु एक सय ८५ पुगेको छ।
त्यसैगरी डिजेलको मूल्य पहिलो वर्गमा एक सय ७६ दशमलव पाँच, दोस्रो वर्गमा रु एक सय ७८ र तेस्रो वर्गमा रु एक ७९ प्रतिलिटर कायम भएको छ भने आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर रु एक सय ४४ र अन्तर्राष्ट्रियको मूल्य एक दशमलव ०९५ अमेरिकी डलर कायम भएको छ।




