२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सवारी दुर्घटनामा एकको मृत्यु नौ जना घाइते

images

  • २०८० असोज १७, बुधबार
  • 1.9K
    SHARES
  • सवारी दुर्घटनामा एकको मृत्यु नौ जना घाइते

    असोज १७, मकवानपुर :  मकवानपुरमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्। 

    धरान चतरा सडक खण्डअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका–५ तीनतलेमा आज दूध बोक्ने खाली ट्याङ्कर दुर्घटना हुदाँ हेटौँडा उपमहानगरपालिका–९ एचआइडी निवासी अन्दाजी ३४ वर्षका सिद्धान्त लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले बताउनुभयो। 

    हेटौँडाबाट बकैयातर्फ गइरहेको ना१घ ५४४ नम्बरको ट्याङ्कर गाडी तीनतलेमा सडकबाट आफैँ अनियन्त्रित भई एक सय मिटर तल खस्दा सख्त घाइते भएका लामालाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको र उपचारको क्रममा मध्याह्न १२ बजे निधन भएको प्रहरी प्रवक्ता भण्डारीले बताउनुभयो।

    दुर्घटनामा सहचालक धादिङ जिल्ला गजुरी निवासी ४५ वर्षका प्रेम अधिकारी भने घाइते भएका छन्। उहाँका दाहिने खुट्टाको घुडामा गहिरो चोट लागेको र उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो।

    यसैबीच आजै मकवानपुरको हेटौँडामा ट्रकले म्याजिकलाई ठक्कर दिँदा नौ जना घाइते भएका छन् भने तीनको अवस्था गम्भीर रहेको छ। हेटौँडा उपमहानगरपालिका–१९ सान्नानीटारमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत सान्ननीटारमा मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको ना१ज ३१६७ नम्बरको म्याजिकलाई सोही दिशाबाट आएको ना ५ ख ९६८४ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिँदा उक्त घटना भएको प्रहरी प्रवक्ता भण्डारीले बताउनुभयो। सडक किनारमा रोकी यात्रु चढाईरहेको अवस्थामा म्याजिकलाई ट्रकले ठक्कर दिएको उहाँले बताउनुभयो। 

    घटनामा परी घाइते भएका हेटौँडा ११ थानाभञ्ज्याङका ३६ वर्षका विमल पुलामी मगर, हेटौँडा १९ नेवारपानीका लोकबहादुर मोक्तानकी दुई वर्षकी छोरी कुश्मी मोक्तान र सोही स्थानकी ५६ वर्षकी ठूलीमाया बम्जनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

    गम्भीर घाइते मोक्तान र बम्जनलाई उपचारका लागि चितवन र बाँकी सातजनालाई उपचारका लागी हेटौँडा अस्पताल ल्याइएको प्रवक्ता भण्डारीले जानकारी दिनुभयो। ट्रक तथा म्याजिक चालक प्रहरी नियन्त्रणमा रहेको उहाँले बताउनुभयो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ