काठमाडौँ : साताको तेस्रो कारोबार दिन आज नेप्से परिसूचक दोहोरो अङ्क घटेर बन्द भएको छ। आज नेप्से परिसूचक ७०.३१ अंक घटेर २००७.६९ विन्दुमा पुगेको छ। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ११.९७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ४.७६ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ३.९७ अंक घटेको छ।
कारोबार रकमका आधारमा आज सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थान ४१ करोड ९१ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ भने शिवम् सिमेन्टको साढे २४ करोडभन्दा बढी तथा घोराही सिमेन्टको कारोबार रकम १४ करोड बढीको शेयर किनबेच भएको छ।
आज ३३ कम्पनीको मूल्य बढेको छ भने २१३ कम्पनीको मूल्य घटेको छ तथा बाँकी २ कम्पनीको मूल्य स्थिर रहेको छ। आज ३१६ कम्पनीको ६९ हजार २ सय ८ पटकको कारोबारमा ४ अर्ब ११ करोड ३६ लाख रुपैयाँ बराबरको १ करोड १४ लाख ६७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये आज १ उपसमूह बाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। आज म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.६६ प्रतिशत बढेको हो भने अन्य उपसमूह्को परिसूचक सर्वाधिक ४.३५ प्रतिशत घटेको छ। त्यस्तै, आज जलविद्युत र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, लगानी र जीवन बीमा उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ।
आज गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ८.७३ प्रतिशत बढेको छ। आज दुई कम्पनीको शेयर नकारात्मक सर्किट लागेको छ जसमा बोटलर्स नेपाल (बालाजु) र जोशी हाइड्रोपावर रहेका छन् भने बोटलर्स नेपाल (तराई) को शेयरमूल्य करिब साढे ९ प्रतिशत तथा प्रभु इन्स्योरेन्सको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी घटेको छ।