इनरुवा : सुनसरीको दक्षिणी सीमावर्ती पालिका बर्जू गाउँपालिका–४ मा स्थापना भएको सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउटपोष्ट (बि ओपी) आजदेखि सञ्चालन भएको छ।
कोरोना महामारीका बेला हर्बोनीमा स्थापना भएको फरवार्ड बेसलाई सशस्त्र प्रहरी बलले बिओपीका रूपमा सञ्चालनमा ल्याएको हो। बर्जू गाउँपालिका–४ मा स्थापना भएको उक्त बिओपीको सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालयका बाहिनी पति सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनीकुमार पोखरेलले उद्घाटन गर्नुभयो।
सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, कोसी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक चन्द्र कुबेर खापुङ र बर्जू गाउँपालिकाका अध्यक्ष जीवकुमार रायलगायतको उपस्थितिमा उक्त बिओपीको उद्घाटन गरिएको हो। सशस्त्र प्रहरी बलले विराटनगरका रोमी जैनले उपलब्ध गराएको चार कट्ठा र बर्जू गाउँपालिकाले उपलब्ध गराएको दुई कट्ठा गरी छ कट्ठा क्षेत्रफलमा बि ओपी निर्माण गरेको छ।
सीमा सुरक्षा र चोरी तस्करी नियन्त्रणसँगै सीमा अपराध रोक्न बिओपीबाट मद्दत मिल्ने बराह बाहिनीका बाहिनी पति पोखरेलले बताउनुभयो। बिओपीबाट ३.९ किलोमिटर क्षेत्रभित्रका ५१ वटा सीमा स्तम्भको रेखदेख हुनेछ। हर्बोनीमा बि ओपी उद्घाटन भएसँगै सुनसरीमा सशस्त्र प्रहरीको बि ओपी सङ्ख्या नौ पुगेको छ।



