असोज २२, काठमाडौँ : कर्णाली प्रदेश र लुम्बिनी प्रदेशबाट मनसुन बाहिरिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार साँझसम्म कर्णाली प्रदेशका अधिकांश भू-भाग र लुम्बिनी प्रदेशमा पश्चिमी भू-भागबाट मनसनु बाहिरिएको हो।
पूर्वी भू-भागबाट भित्रने मनसुन पश्चिमी भू-भागबाट बाहिरिन्छ। नेपालमा एक दिन ढिला गरी जुन १४ (जेठ ३१ गते)मनसुन भित्रिएको थियो। सामान्यतया अक्टोबर २ सम्म मनसुन बाहिरिन्छ। तर यसपालि पाँच दिन ढिला गरी सदूरपश्चिम प्रदेशबाट मनसुन बाहिरिएको छ।
देशैभरीबाट कहिलेसम्म बाहिरिन्छ भन्नेबारे महाशाखाले अध्ययन अनुगमन गरिरहेको जानकारी दिएको छ। मनसुन बाहिरिएपछि सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका पश्चिमी भू-भागमा तत्काल पानी पर्ने सम्भावना छैन। अन्य भू-भागमा पनि लामो झरी पर्ने र भारी वर्षा हुने सम्भावना नरहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल नेपालको पूर्वी तथा मध्य भागमा बंगलादेश र आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। अहिले कोशी, बागमती र गण्डकी प्रदेशको भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि सफा रहेको महाशाखाले जनाएको छ।
राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। बाँकी प्रदेशहरुमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ।
भोलि (मंगलबार) कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थान र लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। बुधबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा मधेश र लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्का वर्षा हुने महाशाखाको पूर्वानुमान छ।
वर्षाका कारण सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने महाशाखाको आकलन छ। मनसुनको समयमा बाढी, पहिरो,चट्याङ्ग, हावाहुरी, भूक्षयको सम्भावना हुने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।



