असोज २२,काठमाडौँ : आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भोलि मङ्गलबार राष्ट्रिय शोकको घोषणा गरेको छ। इजरायलमा भएको आक्रमणमा १० जना नेपालीले मृत्यु भएकाले भोलि राष्ट्रिय शोकको घोषणा गरेको सरकारकी प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो।
गएको शनिबार बिहान इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासले गरेको आक्रमणमा नेपालबाट 'इन्टर्नु' मा गएकामध्ये १० जना विद्यार्थीको मृत्यु भएको थियो।
यस्तै, मन्त्रिपरिषद् बैठकले इजरायलमा रहेका तथा स्वदेश आउन चाहने सबै नेपालीलाई नेपाल ल्याउने र मृतकका परिवारलाई १०/१० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय भएको शर्माले जानकारी दिनुभयो।
“असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालयहरुमा र विदेशस्थित नियोगमा झन्डा आधा झुकाउने निर्णय भएको छ,” शर्माले जानकारी दिनुभयो। “भोलि बिदा भने होइन।”




