काठमाडौँ : ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ वर्षको पूर्वसन्ध्यामा २०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ। बैंकले राष्ट्रिय संग्रहालय छाउनी र पुरातत्त्व विभागसँगको सहकार्यमा विभिन्न समयमा स्वदेश फर्काइएका प्राचिन कलाकृतिहरू समावेश गरी तयार गरिएको नयाँ वर्ष २०८१ को क्यालेन्डर सार्वजनिक गरेको हो।
ग्लोबल आइएमई बैंक तथा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकको कर्पोरेट कार्यालय, कमलादीमा आयोजित एक समारोहबिच नयाँ सालको क्यालेन्डर सार्वजनिक गर्नुभएको हो। क्यालेन्डर सार्वजनिक गर्दै अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई पूरा गर्न विभिन्न सामाजिक कार्यहरू गर्दै आएको बताउनुभयो।
विगतका वर्षहरूमा क्यालेण्डरमा नेपाली कला र संस्कृतिसम्बन्धी विषयहरू प्रकाशन गर्ने गरेको स्मरण गराउँदै उहाँले भन्नुभयो, “नेपालको सर्वांगिण विकासका लागि हामीले नेपाली कला, साहित्य, संस्कृति र सभ्यतालाई संरक्षण तथा प्रवर्द्धन गर्न आवश्यक छ । ग्लोबल आइएमई बैैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यहरूलाई निरन्तरता दिँदै आएको छ।”
उहाँले नयाँ वर्ष २०८१ सालको सु–अवसरमा सम्पूर्ण ग्राहक वर्ग, शेयर धनी, नियमनकारी निकाय, कर्मचारी एवम् प्रत्यक्ष/अप्रत्यक्षता जोडिनु भएका सबैमा नयाँ वर्ष २०८१ को शुभकामना समेत व्यक्त गर्नुभएको छ। उक्त कार्यक्रममा बैंकको सञ्चालक समिति, उच्च व्यवस्थापनलगायत बैंकका कर्मचारी तथा विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो।
ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्र रहेका छन्।
ग्लोबल आइएमई बैंकलाई सबैका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लाभान्वित गरिरहेको छ। त्यसै गरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान पुर्याउदै आइरहेको छ।



