काठमाडौं : मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो १९औँ वार्षिक साधारणसभा आगामी कात्तिक २० गते बोलाएको छ। कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले काठमाडौंको थापागाउँस्थित थापागाउँ ब्यांक्वेटमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो।
सभामा कम्पनीले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लाभांश वितरणसम्बन्धी प्रस्ताव पारित गर्नेछ। कम्पनीले करसहित १५ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर गरी कुल १९ प्रतिशत लाभांश प्रस्ताव गरेको विवरणमा उल्लेख छ।
यसैगरी, सभाले १०० रुपैयाँ अंकित दरका ४० लाख कित्ता अग्राधिकार शेयर जारी गर्ने विशेष प्रस्तावमाथि छलफल गरी पारित गर्नेछ। उक्त शेयरको कुल रकम ४० करोड रुपैयाँ हुनेछ। प्रस्तावअनुसार ८.७५ प्रतिशत लाभांश दर कायम गरी मुनाफा भएको वर्षमा मात्र लाभांश वितरण गर्ने व्यवस्था रहनेछ। नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भएपछि उक्त अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गरी कम्पनीको प्राथमिक पुँजी वृद्धि गर्ने योजना छ।
बोनस शेयर वितरण तथा अग्राधिकार शेयर जारीपछि कम्पनीको जारी तथा चुक्तापुँजीमा वृद्धि हुने भएकाले सोहीअनुसार प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ।
त्यस्तै, बोनस शेयर समायोजन र अग्राधिकार शेयर जारीपश्चात् कम्पनीको अधिकृत पुँजी १ अर्ब ३६ करोड रुपैयाँबाट बढाएर १ अर्ब ८३ करोड रुपैयाँ पुर्याउने प्रस्ताव सभाले अनुमोदन गर्नेछ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। साथै, चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित गरिनेछ।
बुक क्लोज कहिले ?
वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले कात्तिक ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले कात्तिक १० गतेसम्म कायम रहेका शेयरधनीहरू मात्र प्रस्तावित लाभांश प्राप्त गर्न र वार्षिक साधारणसभामा सहभागी हुन योग्य हुनेछन्।