काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले मुलुकको हित र पर्यटन प्रवर्द्धनका निम्ति सक्रियरुपमा काम गर्न पर्यटन प्रवर्द्धकलाई निर्देशन दिनुभएको छ।
नवनियुक्त पर्यटन प्रवर्द्धकलाई आज मन्त्रालयमा नियुक्ति पत्र, परिचयपत्र र राष्ट्रिय झण्डा हस्तान्तरण गर्नुहुँदै मन्त्री तामाङले पर्यटन प्रवर्द्धनका साथै विदेशबाट बढी भन्दा बढी लगानी भित्र्याउने कार्यमा भूमिका खेल्न आग्रह गर्नुभयो। मुलुकको पर्यटन प्रवर्द्धनका निम्ति प्रवर्द्धकको महत्त्वपूर्ण भूमिका र जिम्मेवारी रहेको उल्लेख गर्दै उहाँले देश र जनताको पक्षमा काम गर्न आग्रह गर्नुभयो। यही फागुन १३ गतेको मन्त्रिस्तरको निर्णयबाट विभिन्न मुलुकमा नेपालको पर्यटन प्रवर्द्धन गर्न २९ प्रवर्द्धक नियुक्त गरेको थियो।
प्रवर्द्धकको तर्फबाट बेलायतका लागि नियुक्त सोमनाथ सापकोटाले देशको सर्वोपरि हितलाई केन्द्रमा राखेर पाएको जिम्मेवारीलाई कुशलता पूर्व निर्वाह गर्ने बताउनुभयो। नेपालको पर्यटन प्रबद्र्धनका लागि विगतमा विभिन्न मुलुकमा नियुक्ति गरिने पर्यटन दूतलाई मन्त्रालयले यस पटकबाट पर्यटक प्रवर्द्धक नियुक्ति गरेको हो। सुशासन व्यवस्थापन तथा सञ्चालन कार्यविधि, २०६४ को पर्यटन प्रवर्द्धक कार्यविधि २०७९ को पहिलो संशोधनअन्तर्गत मन्त्रीस्तरिय निर्णय गर्दै नियुक्त गरिएको मन्त्रालयले जनाइएको छ।



