काठमाडौँ : केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको तथ्याङ्कमा आधारित ‘मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनअनुसार अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक देखिएका छन्।
नेपाल राष्ट्र बैंकका अनुसार फागुन मसान्तसम्ममा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.०१ प्रतिशत रहेको छ। सरकारले चालु आवका लागि मुद्रास्फीति ६.५ प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेको छ।
सात महिना अवधिमा आयात २.३, निर्यात ७.१ र कुल वस्तु व्यापार घाटा १.८ प्रतिशतले घटेको छ। यो अवधिमा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २१.६ प्रतिशतले र अमेरिकी डलरमा १९.१ प्रतिशतले बढेको छ। त्यसै गरी, शोधनान्तर स्थिति रु २ खर्ब ९७ अर्ब ७२ करोडले बचतमा रहेको छ।
कूल विदेशी विनिमय सञ्चिति रु १८ खर्ब ४४ अर्ब ९४ करोड र अमेरिकी डलरमा १३ अर्ब ८९ करोड रहेको छ। सात महिना अवधिको सरकारको खर्च रु ६ खर्ब ८६ अर्ब ७५ करोड र राजस्व परिचालन रु ५ खर्ब ६७ अर्ब ४० करोड रहेको छ। यो अवधिमा विस्तृत मुद्रा प्रदाय ७ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ। वार्षिक विन्दुगत आधारमा यस्तो मुद्रा प्रदाय १३.७ प्रतिशतले बढेको छ।
फागुन मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन ७ प्रतिशतले बढेको छ। त्यस्तै, निजी क्षेत्रमा प्रवाहित कर्जा ४.१ प्रतिशतले बढेको छ। वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.४ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४.७ प्रतिशत रहेको छ।



