काठमाडौँ : टोखामा तीनदिने ‘पाँहाचह्रे’ जात्रा प्रारम्भ भएको छ। जात्राका क्रममा टोखाका नेवार समुदायले पाहुना बोलाएर मीठो खुवाउने प्रचलन रहेको नेवाः गुथि टोखाका अध्यक्ष रमेश नापितले बताउनुभयो।
आज विनायक र सङ्कटा अजिमाका रथलाई गाउँ परिक्रमा गराइन्छ। परिक्रममाका क्रममा जहाँ–जहाँ महादेव लुकेर बसेको छन्। त्यहाँ पुर्याई दर्शन गराएर फर्काउने चलन रहेको अध्यक्ष नापितले बताउनुभयो। भोलि घोडेजात्राका दिन साँझ ६.३० बजे सपन विनायनको रथलाई सपनतीर्थमा लैजाने, सङ्कटाको रथलाई तरख्यःमा ल्याएर छजना कुमार र चारजना कुमारीलाई भात खुवाइने उहाँले बताउनुभयो।
सपनतीर्थको रथलाई नात्येश्वर र सङ्कटाको रथलाई थलाग टोलमा बिसाइन्छ। सोही रात भजनकीर्तन गर्ने र जाग्राम बस्ने चलन छ। जात्राको अन्तिम दिन बिहान ६.३० बजे सपनतीर्थको रथ नात्येश्वरबाट र सङ्कटाको रथ थलाग टोलबाट बाजागाजासहित कपडा बिच्छ्याएर थलागटोलमा रहेको पाँचवटा प्वाल भएको ढुङ्गा (न्या प्वाय ल्हो)मा लगेर सपनविनायकले सङ्कटालाई तीनपटक ढोगाउने चलन छ। त्यसपछि सङ्कटा अगाडि र सपनविनायकको रथ पछाडि बसेर लिङ्गेश्वरलाई तीनपटक परिक्रमा गरी जात्रा समापन गरिन्छ।



