कात्तिक २, काठमाडौं : आज गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नयाँ नेतृत्वका लागि चुनाव हुँदैछ। विदेशमा रहेका नेपालीहरुका लागि भने गए रातिदेखि नै अनलाइन भोटिङ खुला गरिएको छ। अनलाइनबाट चौबीस घण्टाभित्र मतदान गरिसक्नुपर्ने व्यवस्था रहेको छ। नेपालमा रहेका प्रतिनिधिहरुलाई भने आज बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म मतदानको समय तोकिएको छ।
४,२२७ प्रतिनिधिमध्ये झण्डै ९०० प्रतिनिधिले नेपालबाट मतदान गर्ने निर्वाचन समितिले जनाएको छ। एनआरएनएको ११ औँ महाधिवेशनले बनाएको कार्यतालिका अनुसार १ जना अध्यक्ष, ८ जना उपाध्यक्ष (महिला र युवा एक एक जना), महासचिव १ जना, उपमहासचिव २ जनाको व्यवस्था गरेको छ।
यसैगरी ७ जना सचिव (एक जना महिला) हुने छन्। कोषाध्यक्ष १ जना हुँदा सहकोषाध्यक्ष भने ४ जना (महिला १ जना) रहने छन्। यसैगरी महिला संयोजक १ जना, युवा संयोजक १ जना रहने छन्। त्यस्तै, क्षेत्री संयोजक ६ जना (प्रत्येक क्षेत्रमा १ जना) हुने छन्। त्यसैगरी क्षेत्रीय उप संयोजक भने १७ जना हुने छन्। जसमा अफ्रिका क्षेत्रबाट २ जना हुँदा अरु क्षेत्रबाट ३ जनाका दरले हुने छन्।
यस्तै, क्षेत्रीय महिला संयोजक ६ जना (प्रत्येक क्षेत्रबाट १) क्षेत्रीय महिला उप संयोजक ६ जना (प्रत्येक क्षेत्रबाट १) रहने छन्। क्षेत्रीय युवा संयोजक र उप संयोजक पनि ६–६ जना हुने छन्।
यस्तै, दोस्रो पुस्ताका गैर आवासीय नेपाली संयोजक १ जना रहने छन्। निर्वाचन समितिका अनुसार पदाधिकारीको संख्या ७४ हुने छ।
अध्यक्षमा ४ जनाले उम्मेदवारी दर्ता गराए पनि रविना थापाले अध्यक्ष पदका अर्का उम्मेदवार महेशकुमार श्रेष्ठलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्नुभएको छ। अब अध्यक्षमा बद्री केसी, महेश श्रेष्ठ र आरके (राजेन्द्र कुमार) शर्माबीच प्रतिष्पर्धा हुँदैछ। अध्यक्षका प्रत्याशी ३ जना प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धामा छन्।



