२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

आगोले पर्साका १५ किसानको लाखौँको क्षति

images

  • २०८१ वैशाख ९, आइतबार
  • 766
    SHARES
  • आगोले पर्साका १५ किसानको लाखौँको क्षति

    वीरगञ्ज : सीमावर्ती भारतको गहुँखेतबाट सल्किएको आगोले पर्साको छिपहरमाई गाउँपालिका–१ भलमहिया बस्तीका १५ किसानको अन्नबालीसहित फुसको घर जल्दा लाखौँको क्षति भएको छ।  

    भारतीय भूमिमा पर्ने खेतबाट शनिबार दिउँसो ३ बजेको समयमा सल्किएको आगोले यहाँका १५ किसानको गहुँ अन्नवाली, पराल, कुखुरा फार्म र फुसको घरलगायत सम्पत्तिमा क्षति पुर्याउँदा रु १२ लाख ८४ हजार बराबरको क्षति भएको छ।

    छिपहरमाई गाउँपालिका–१ का वडाध्यक्ष कामेश्वरप्रसाद यादवले भारतीय भूमिबाट सल्किएका आगोका कारण नेपालका १५ किसानको भित्र्याउने अवस्थाको बाली नष्ट भएको बताउनुभयो। “भारतीय भूमिमा गहुँको ठुटोमा लगाएको आगो अनियन्त्रित हुँदै आएर नेपालको भूमिमा  खेतीबाली तथा फुसको घरमा क्षति पुर्याएको छ”, उहाँले भन्नुभयो, “सानो असावधानीले हाम्रा किसान ठूलो क्षति भोग्न बाध्य भए।” 

    जिल्ला प्रहरी कार्यालय पर्साका नायब प्रहरी उपरीक्षक कुमारविक्रम थापाले नेपाली भूमिमा आगो सल्किएको थाहा पाउनेबित्तिकै सबै निकायको समन्वयमा तीन घण्टाभित्रै आगो निभाउन सम्भव भएको बताउनुभयो। प्रहरी चौकी मिर्जापुर, इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोली, स्थानीय तथा वीरगञ्ज महानगरपालिकाको दमकल, पोखरीया नगरपालिकाको दमकल, विपद् व्यवस्थापन गुुल्म पर्साको दमकलको सहयोगमा  आगो पूर्ण रूपमा निभाउन सफल भएको प्रहरीले जनाएको छ।

    आगजनीको कारणले छिपहरमाई गाउँपालिका–१ भलमहियाका मलबोद यादवले सञ्चालन गर्दै आएको ओमपाथीभारा पशुपक्षी फार्म जलेर नष्ट भएको छ। सो फार्ममा रहेका २५ क्विन्टल दाना र फुसको घरसहित कुखुरा जलेर नष्ट हुँदा रु चार लाख बराबरको क्षति भएको प्रहरीले अनुमान गरेको छ। आगजनीले  सोही ठाउँका किसान किसनदेव हजराको फुसको घर, २० क्विन्टल गहुँ, लत्ताकपडा र भाडावर्तन गरेर रु दुई लाख ८० हजार बराबरको अन्नबाली तथा सामान नष्ट भएको छ।

    आगोले राजु यादवको ३३ कठ्ठामा रहेको गहुँ, पराल गरी रु एक लाख बराबरको अन्नबाली नष्ट भएको छ। चेतमन राउत अहिरको पनि छ कठ्ठामा रहेको गहँुबाली जलेको छ। सोही ठाउँका उपेन्द्र यादव र हाकिम यादवको पनि आठ–आठ कठ्ठामा रहेको गहुँबाली नष्ट भएको छ। 

    किसान ताराचन्द्र साह तेलीको ३० कठ्ठामा रहेको गहुँ र पराल गरी रु एक लाख २० हजार मूल्यको अन्नबाली जलेर क्षति भएको छ। भिखरी राउत अहिरको पराल जल्दा रु ३० हजारको क्षति भएको छ। आगजनी भएर वीरेन्द्र यादवको फुसको गोठसहित १० क्विन्टल गहुँसहित ८० हजार बराबरको क्षति भएको छ। त्यसैगरी साहेब राउत र जुगुल यादवको पराल जल्दा जनही रु २० हजारको क्षति भएको छ। 

    त्यसैगरी विश्वनाथ यादवको पराल जल्दा रु ८० हजार र मुनिल यादबको १० कठ्ठामा रहेको गँहुबाली जल्दा रु ८० हजारको क्षति भएको छ। त्यसैगरी अर्जुन यादवको पनि १० कठ्ठामा रहेको गहुँबाली आगजनीकै कारणले जल्दा रु ५० हजारको क्षति भएको छ। त्यस्तै, सोही ठाउँका किशुनदेव यादवको तीन कठ्ठाको गहँबालीमा क्षति हँदा रु २० हजारको क्षति भएको प्रहरीले जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ