२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

अर्घाखाँची सिमेन्टको निर्यात बढ्दो क्रममा, ८ महिनामा साढे ३ अर्बको कारोबार

images

  • २०८१ वैशाख २१, शुक्रबार
  • 466
    SHARES
  • अर्घाखाँची सिमेन्टको निर्यात बढ्दो क्रममा, ८ महिनामा साढे ३ अर्बको कारोबार

    काठमाडौँ : अर्घाखाँची सिमेन्टले चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा ३ अर्ब ३६ करोड ७० लाख रुपैयाँको कारोबार गरेको छ। 

    कम्पनीले सन् २०२३ मा ५ अर्ब ७७ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो। सन् २०२२ मा ७ अर्ब ५८ करोड ९० लाख रुपैयाँ, सन् २०२१ मा ८ अर्ब ७० करोड ४० लाख रुपैयाँ र सन् २०२० मा ७ अर्ब ३७ करोड ९० लाख रुपैयाँको व्यापार कम्पनीले गरेको थियो।


    कम्पनीको कारोबारको तथ्याङ्क हेर्दा पछिल्लो दुई वर्षमा व्यापार घट्दै गएको देखिन्छ। सन् १९९८ मा डाइनेष्टि इन्डष्ट्रिज नेपालको नाममा स्थापना भएको कम्पनी सन् २०११ मा अर्घाखाँची सिमेन्ट प्रा.लि.मा परिणत गरेको थियो। 

    त्यस्तै, कम्पनीले सन् २०२१ मा मात्रै पब्लिक कम्पनी बनाएको छ । कम्पनीले क्लिङ्कर र ग्रान्डिङ सिमेन्ट उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आएको छ। कम्पनीसँग वार्षिक १० लाख मेट्रिक टन क्लिकर र ८ लाख मेट्रिक टन ग्रान्डिङ सिमेन्ट उत्पादन गर्न सक्ने क्षमतामा सञ्चालन भइरहेको छ।


    कम्पनीमा तीनवटा व्यवसायिक घरानाका ८ जना सदस्यको स्वामित्व छ। कम्पनीमा सिद्धार्थ ग्रुपको ३५ प्रतिशत, मुरारका ग्रुपको ३० प्रतिशत र केडिया ग्रुपको १७.५ प्रतिशत र भारतीय कम्पनी उमा सिमेन्ट इन्टरनेशनलको १७.५ प्रतिशत स्वामित्व छ। कम्पनीले उत्पादन गरेको ओपीसी र पीपीसी सिमेन्ट अर्घाखाँची ब्राण्डमा बिक्री वितरण गर्दै आएको छ।

    कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि ४ अर्ब ६३ करोड ३० लाख रुपैयाँको रेटिङ गराएको छ। कम्पनीले दीर्घकालीन कर्जाका लागि २ अर्ब ७८ करोड ३० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब ८४ करोड ९० लाख रुपैयाँको रेटिङ गराएको छ।

    कम्पनीले आन्तरिक बजारसँगै भारतमा पनि सिमेन्ट निर्यात गर्दै आएको छ। सरकारले ५० करोडभन्दा बढीको निर्यात गर्ने उद्योगलाई ८ प्रतिशत प्रोत्साहनस्वरुप अनुदानको व्यवस्था गरेसँगै कम्पनीले भारतमा सिमेन्ट उच्च मात्रामा निर्यात गर्दै आएको छ।

    कम्पनीले चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा गरेको व्यापारमध्ये निर्यातको हिस्सा १२ प्रतिशत छ। सन् २०२३ मा निर्यातको हिस्सा ६ प्रतिशत थियो। पछिल्ला दिनहरुमा निर्यात बढ्दै गए पनि आन्तरिक बजारमा सिमेन्टको मागमा कमी आउँदा कम्पनीको व्यापारमा असर पुगेको उल्लेख छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ