काठमाडौँ : बीमा प्राधिकरणको निर्देशनछि सिटिजन लाइफ इन्स्योरेन्सले घोषणा गरेको लाभांश रद्द गरेको छ। बीमा प्राधिकरणले सोमबार दिउँसो कम्पनीले त्रुटी गरेको निष्कर्ष सहित लाभांश रद्द गर्न निर्देशन दिएको थियो।
बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले प्राधिकरणको अनुमति नलिइ कम्पनीले एकाएक लाभांश वितरण गर्ने निर्णय गरेका कारण लाभांश रद्द गर्ने निर्णय भएको बताउनु भयो।
कम्पनी सञ्चालक समितिको बैठकले प्रिमियममा सेयर निष्काशन गर्दा सञ्चित भएको प्रिमियमबाट बोनस र नगद गरी २८.४ प्रतिशतसम्म लाभांश वितरण गर्ने घोषणा गरेको थियो।
बैशाख २३ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजी ३ अर्ब ९३ करोड रुपैयाँको २६.९८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.४२ प्रतिशत नगद लाभांश गरी कुल २८.४ प्रतिशत अन्तरिम लाभांश वितरण गर्ने घोषणा थियो। तर, प्रक्रिया नमिलेको तथा नअपनाएको भन्दै प्राधिकरणले सो लाभांश रोकेको हो।
कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश नेपाल बीमा प्राधिकरणले रोकेसँगै अब सेयरधनीले लाभांश पाउने छैनन्। प्राधिकरणको पूर्व स्वीकृति बिना नै अन्तरिम लाभांश प्रस्ताव गरेकोले लाभांश स्थगन गर्न पत्र पठाइएको हो।
कम्पनीले नेप्से मार्फत लगानीकर्तालाई दिएको जानकारीमा नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि र कम्पनीको आगामी विशेष साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने उल्लेख थियो।



