कात्तिक १३, काठमाडौं : दिनभरजसो उतारचढाव भएर रातो देखिएको बजार अन्तिम समयमा बढेर रोकिएको हो। साताको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक नेप्से ३.०४ अंकले वृद्धि हुँदा १८७८.७० को विन्दुमा रोकिएको छ। त्यसैगरी,आज सेन्सेटिभ इण्डेक्स १.१८ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.२२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५३ अंक बढेको छ।
आज (सोमबार) १३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेका छन्। आज परिसूचक बढेका उपसमूहको वृद्धिदर भने १ प्रतिशतभन्दा कम रहेको छ र होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक भने घटेका छन्।
आज (सोमबार) नेप्से झिनो अंकले बढेसँगै कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। हिजो ७४ करोडको शेयर कारोबार भएको बजारमा आज २८७ स्टकको ३० हजार २३७ पटकको कारोबारमा ९६ करोड ४२ लाख रुपैयाँ बराबरको २८ लाख २४ हजार कित्ता शेयर कारोबार भएको छ।
आज पञ्चकन्या माइ हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ७.८२ प्रतिशत बढेको छ भने मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढी बढेको छ र सुपर मादी हाइड्रोपावरको ५ प्रतिशतभन्दा बढी बढेको छ।
सोनापुर मिनिरल्स एण्ड आयल सिमेन्टको सेयर नेप्सेमा सुचीकृत भएर कारोबार सुरु भएको दोस्रो दिन पनि नकारात्मक सर्किट लागेको छ। सोमबार प्रतिकित्ता ३१५ रुपैयाँबाट खुलेको कम्पनीको मूल्य १० प्रतिशत घटेर २८३ रुपैयाँ ५० पैसामा कायम भएको छ। यसअघि हिजो पहिलो दिन आइतबार ३५० रुपैयाँबाट कारोबार खुलेको कम्पनीको मूल्य १० प्रतिशत नै घटेर ३१५ रुपैयाँमा झरेको थियो।
त्यसैगरी,आज कारोबार रकमका आधारमा साधना लघुवित्त संस्थापक सेयर, नेपाल लाइफ इन्स्योरेन्स, सिद्धार्थ बैंक संस्थापक, नबिल बैंक र नेसनल हाइड्रोपावर क्रमशः अगाडि रहेका छन्। सोमबार कारोबार भएकोमध्ये साधना लघुवित्तको संस्थापक शेयर को सर्वाधिक ३ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ। यस्तै, नेपाल लाइफ इन्स्योरेन्सको यस दिन ३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।



