काठमाडौँ : नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। व्यवसायिक तथा वित्तीय आम्दानी घटे पनि कम्पनीको नाफामा भने वृद्धि भएको छ।
अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको चैत मसान्तसम्म टेलिकमको खुद नाफामा वृद्धि भएको छ। यस त्रैमाससम्म कम्पनीको खुद नाफा ५ अर्ब ५९ करोड ३७ लाख रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीको नाफा ५ अर्ब ४१ करोड १९ लाख रुपैयाँ रहेको थियो।
तेस्रो त्रैमाससम्ममा कम्पनीले मुख्य व्यापारबाट २५ अर्ब ४८ करोड १२ लाख रुपैयाँ आम्दानी गरेको छ जुन अघिल्लो वर्ष २७ अर्ब ३४ करोड ६६ लाख रुपैयाँ रहेको थियो। यो त्रैमासमात्र टेलिकम सेवा बेचेर कम्पनीले ८ अर्ब २३ करोड ४५ लाख रुपैयाँ कमाएको छ।
तेस्रो त्रैमाससम्म कम्पनीको सञ्चालन मुनाफा १३ अर्ब ४० करोड २९ लाख रुपैयाँ पुगेको छ जुन गत आर्थिक वर्षको यसै अवधिसम्ममा १४ अर्ब ८२ करोड ४५ लाख रुपैयाँ रहेको थियो। सञ्चालन मुनाफा करिब ९.५ प्रतिशतले घटेको हो।
जारी आवको कारोबारबाट यस त्रैमाससम्म वितरणयोग्य मुनाफा ५ अर्ब ५९ करोड ३७ लाख रुपैयाँ रहेको छ। कम्पनीको अन्य श्रोतबाट हुने आम्दानी भने १६ करोड ११ लाखबाट बढेर ५३ करोड पुगेको छ। यसले गर्दा नाफा बढ्न टेवा पुगेको छ।
हाल कम्पनीको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा ७४ अर्ब ३३ करोड रुपैयाँ रहेको छ। यस अवधिसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी अहिले बढेर ४१ रुपैयाँ ४४ पैसा कायम भएको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ भने ५१२ रुपैयाँ ९९ पैसा रहेको छ।



