काठमाडौं :सुदूरपश्चिम प्रदेश बजेट शून्यताको अवस्थामा पुगेको छ । केन्द्रमा भएको सत्ता गठबन्धन फेरबदलले सुदूरपश्चिममा बजेट शून्यताको अवस्था आएको हो । वर्तमान मुख्यमन्त्री दीर्घ सोडारीको नेतृत्वले असार १ गते प्रदेशसभामा पेश गरेको बजेट छलफल नै नगरी अर्काे सत्ता गठबन्धन बनेपछि बजेट अलपत्र परेको हो ।
असार मसान्तको राति १२ बजेसम्म बजेट पास हुनुपर्ने संवैधानिक प्रावधान छ तर बजेटमा छलफल नै सुरु हुन सकेन । तत्कालीन गठबन्धनबाट आर्थिक मामिलामन्त्री बनेका एमालेका सुरेन्द्रबहादुर पालले असार १ गते ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट पेस गर्नुभएको थियो ।
असार १ गते आएको बजेटमा असार २० गतेसम्म छलफल समेत भएन । सत्ता गठबन्धन फेरिएसँगै असार २० गते नेकपा एमालेले मुख्यमन्त्री सोडारीलाई दिएको समर्थन फिर्ता लिएपछि उहाँ अल्पमतमा पर्नुभएको छ । एमालेले समर्थन फिर्ता लिएपछि उहाँले आफैले ल्याएको बजेट पास नहुने भएको हो ।
अहिले एमाले बजेट पास हुन नदिने पक्षमा छ । सोमबार राति १२ बजेसम्म बजेट पास नभएपछि प्रदेशमा बजेट विहीनताको अवस्था आएको छ । साउन १ गतेदेखि प्रदेश सरकारले न खर्च गर्न पाउनेछ, कर संकलन गर्न समेत नपाउने भएको छ ।



