काठमाडौं : काठमाडौं महानगरपालिकाले सुरु गरेको न्युरोडको फुटपाथ विस्तारलाई स्थानीयबासीले अवरोध गरेका छन् । गत बुधबारदेखि पुनः सुरु गरिएको विस्तारको कामलाई स्थानीयले फेरि अवरोध गरेका हुन् ।

फुटपाथ विस्तारको विरोधमा सयौंको संख्यामा स्थानीयबासी उत्रिएपछि सो क्षेत्रमा अहिले ठूलो संख्यामा नेपाल प्रहरी, नगरप्रहरी लगायत सुरक्षाकर्मी तैनाथ गरिएको छ । स्थानीयको अवरोधकै कारण स्थगित गरिएको फुटपाथ विस्तारको कार्यलाई उच्च अदालतले बाटो खोलिदिएपछि महानगरपालिकाले बुधबारदेखि पुनः काम सुरु गरेको थियो ।

फुटपाथ विस्तारका लागि यसअघि महानगरपालिकाले भत्काएको सडकको कालोपत्रेलाई सडक डिभिजन कार्यालयले हस्तक्षेप गरेर पुन सडक पिच गरेको थियो । सडक डिभिजन कार्यालयको हस्तक्षेपको विरोधमा महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दिएको थियो । सो रिटमा सुनुवाइ गर्दै उच्च अदालतले शहरी सडक स्थानीय तह मातहतमा रहने भन्दै न्यूरोडमा फुटपाथ विस्तारको काम नरोक्न अन्तरिम आदेश दिएको थियो ।



