काठमाडौं : पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका बस र शव खोजीका लागि भारतीय उद्धार टोली खटिएको छ । त्रिशूलीमा बेपत्ता भएका यात्रुको खोजीका लागि भारतीय टोली परिचालन हुने भएको छ । गएराति हिँडेको १२ सदस्यीय टोली अहिले रूपन्देही आइपुगेको छ । आजैै घटनास्थल आइपुगेर टोलीले काम थाल्नेछ ।
प्रहरीका अनुसार विभिन्न उपकरणसहित आएको टोलीले नेपाली सुरक्षा संयन्त्रसँग समन्वय गर्दै खोजी कार्य सुरु गर्नेे छ । नारायणगढ–मुग्लिन सडकको सिमलतालबाट त्रिशूलीमा हराएका दुईवटा बस अहिलेसम्म भेटिएका छैनन् । शवहरू भारतको सीमा क्षेत्रसम्ममा भेटिएका छन् बेपत्ता भएका बस र नागरिकको खोजीका लागि नेपालले भारतको सहयोग मागेको थियो । सिमलतालमा असार २८ गते पहिरोमा परी त्रिशूली नदीमा दुईवटा बससँगै खसेका २५ जना यात्रुको शव भेटिएको छ ।
३७ जना हराइरहेका छन् । गत शुक्रबार सिमलतालमा वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको एञ्जल डिलक्स र काठमाडौँबाट रौतहटको गौरतर्फ जाँदै गरेको गणपति डिलक्सको बस पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका थिए । दुवै बसमा गरी ६५ यात्रु थिए । तीनजनाले पौडिएर ज्यान जोगाएका थिए ।



