काठमाडौं : बङ्गलादेशमा जारी रहेको विद्यार्थी आन्दोलनका कारण प्रभावित भएका नेपाली विद्यार्थीहरुमध्ये आज मात्र चार सय २० जना स्वदेश फर्किएका छन् ।
आज मात्र हवाईमार्गबाट एक सय १५ र बाँकी तीन सय पाँच जना काँकडभिट्टा नाका भएर नेपाली विद्यार्थी स्वदेश फर्किएका अध्यागमन विभागले जनाएको छ ।
आजै बिहान ११ः३० मा ५७ जना नेपाली विद्यार्थी काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए । उनीहरुलाई परराष्ट्र मन्त्रालयका अधिकारीले विमानस्थलमा स्वागत गरेका थिए ।
परराष्ट्र मन्त्रालयले स्वदेश फर्कन चाहने विद्यार्थीको सहजीकरण गरिरहेको छ । मन्त्रालयले बङ्गलादेशको राजधानी ढाकास्थित नेपाली दूतावासका अधिकारीहरुलाई नेपाली विद्यार्थीको सुरक्षित वातावरण तथा नेपाल फर्कन चाहनेका लागि आवश्यक समन्वय गर्न निर्देशन दिएको छ ।



