काठमाडौँ : आर्थिक बर्ष २०८०/८१ मा नेपालको कुल निर्यात घटेसँगै अलैँचीको निर्यात पनि अघिल्लो आर्थिक बर्षको तुलनामा घट्न पुगेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापार तथ्याङ्क अनुसार नेपालबाट निर्यात हुने अधिकांश वस्तुको निर्यात घटिरहेका बेला स्वदेशमै उत्पादन हुने अलैँचीको पनि निर्यात घटेको देखिएको हो ।
विभागका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा ७ अर्ब ९४ करोड ९ लाख ६४ हजार रुपैयाँ बराबरको ५० लाख १८ हजार ३३५ किलो अलैँची निर्यात भएको छ । यो अघिल्लो वर्षको तुलनामा निर्यात मूल्य ४ प्रतिशत र परिमाणका आधारमा ५० प्रतिशतले घटेको विभागको तथ्याङ्क छ ।
गत आर्थिक वर्ष नेपालले ८ अर्ब २७ करोड ६८ लाख रुपैयाँ बराबरको ९९ लाख ९१ हजार १४९ किलो अलैंची निर्यात गरेको थियो ।
५० प्रतिशतले घट्यो उत्पादन
नेपाली अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले अघिल्लो वर्षको तुलनामा गतवर्ष अलैंची उत्पादन ५० प्रतिशतले घटेको बताएका छन् । पछिल्ला केही वर्षदेखि समयमा पानी नपर्ने, नचाहिने बेला पानी पर्नेलगायत विविध कारण अलैंची उत्पादन घटिरहेको उनले बताए ।
‘अलैंचीका लागि माघ र फागुनमा पानी पर्नुपर्र्थो । तर यसपालि चैतमा पानी प¥यो । सुक्खायामका कारण अलैंचीका बोट पनि मरे,’ उनले भने, ‘यसपालि ५० प्रतिशत अलैंची उत्पादन घटेको थियो । त्यसैले अब थप २० देखि २५ प्रतिशत उत्पादन घट्ने अनुमान छ ।’
अलैँची विकास केन्द्रका अनुसार आर्थिक वर्ष ०७८÷७९ को तथ्याङ्कअनुसार देशभर १५ हजार ९ सय ७५ हेक्टर जग्गामा अलैंची खेती हुन्छ । यसबाट उक्त वर्ष ८ हजार ७ सय १४ टन अलैंची उत्पादन भएको थियो ।
आर्थिक वर्ष ०७७/७८ मा १५ हजार ६ सय ६८ हेक्टर जग्गामा अलैंची खेती हुँदा ८ हजार २ सय ८९ टन अलैंची उत्पादन भएको थियो । आर्थिक वर्ष ०७६/७७ मा १६ हजार ५ सय ६२ हेक्टर जमिनबाट ९ हजार ५ सय ४५ टन अलैंची उत्पादन भएको थियो ।
आर्थिक वर्ष ०७५/७६ मा १५ हजार ५५ हेक्टर जमिनमा अलैंची खेती भएको थियो । उक्त वर्ष ७ हजार ९ सय ५४ टन उत्पादन भएको तथ्याङ्क छ ।
मूल्य बढ्दा किसान उत्साहित
उत्पादन घटेपनि अघिल्लो बर्षहरूको तुलनामा अलैँचीको मूल्य बढेको छ । अध्यक्ष भट्टराईका अनुसार गत वर्ष प्रतिमन ६० हजार रुपैयाँमा कारोबार भएको अलैंची यस वर्ष ९० हजार रुपैयाँमा कारोबार भइरहेको छ।
“गत बर्षको सिजनमा प्रतिमन ३० हजार रुपैयाँ बिक्री गरेका किसानले यो वर्ष सुरुवातमै ६० हजाररुपैयाँमा अलैँची बिक्री गरेको पाइएको छ । अहिले यसको मूल्य बढेर प्रतिमन ९० हजार रुपैयाँ हाराहारी पुगेको छ,” उनले भने । उत्पादन घटे पनि मूल्य बढेकाले अलैंचीको निर्यात मूल्यमा खासै असर नपरेको उनको भनाइ छ ।
नेपालमा पूर्वी पहाडबाट अलैँचीको खेती सुरु भएको पाइन्छ । अहिले मुलुकको ५३ जिल्लामा यसको खेती भइरहेको भए पनि ४३ जिल्लाबाट मात्रै व्यावसायिक उत्पादन हुने गरेको छ । नेपालमा ‘डम्मरसाई’, ‘रामसाई’, ‘चिवेसाई’, ‘गोलसाई’, ‘राम्ला’, ‘साउने’लगायतका जातको अलैँची खेती गरिदैँ आएको पाइन्छ ।
बंगलादेशमा पठाउँदा ३५ प्रतिशत कर तिर्नुपर्ने
नेपालमा उत्पादन भएको करिब ९९ प्रतिशत अलैँची भारतमा निर्यात हुने गरेको छ । यसबाहेक, भुटानमा उत्पादन भएको अलैँची समेत भारतमा नै निर्यात हुने गरेको छ । यस आधारमा विश्वकै सबैभन्दा ठुलो आयातकर्ता भारत हो ।
नेपाली अलैँचीको माग बंगलादेशबाट पनि हुने गरेको छ । तर, नेपालबाट बंगलादेशमा अलैँची पठाउँदा ३५ प्रतिशत कर तिर्नुपर्ने उनले गुनासो गरे । अध्यक्ष भट्टराईले भने “नेपालबाट बंगलादेशमा अलैँची निर्यात गर्दा ३५ प्रतिशत कर तिर्नु पर्ने अवस्था रहेको छ । जसकारण नेपाली अलैँचीले बंगलादेशमा अन्य मुलुकबाट जाने अलैँचीसँग प्रतिसपर्धा गर्न नसकेको अवस्था छ ।”
६ बर्षमा ३३ अर्ब बढीको निर्यात
भन्सार विभागको तथ्याङ्क अनुसार नेपालले ६ आर्थिक बर्ष (२०७५/७६ देखि २०८०/८१ सम्म) ३३ अर्ब ३६ करोड रुपैयाँ बढीको अलैँची निर्यात गरेको छ ।
आर्थिक वर्ष २०७९/८० मा नेपालले ८ अर्ब २७ करोड रुपैयाँभन्दा धेरैको अलैँची निर्यात गरेको थियो । जुन अहिलेसम्मकै सबैभन्दा उच्च हो । गत वर्ष नेपालबाट ९९ लाख ९० हजार किलोग्राम अलैँची निर्यात भएको थियो ।
तर, यो निर्यात गत आवमा भने सामान्य घटेको छ । गत आव २०८०/८१ मा नेपालबाट ७ अर्ब ९४ करोड रुपैयाँ बराबरको अलैँची निर्यात भयो । जुन अघिल्लो आवको तुलनामा ३३ करोड रुपैयाँले कम हो ।
कुन आर्थिक बर्ष कतिको भयो निर्यात ?
आर्थिक बर्ष निर्यात रकम
२०७५/७६ २ अर्ब ७१ करोड
२०७६/७७ २ अर्ब ५३ करोड
२०७७/७८ ७ अर्ब १० करोड
२०७८/७९ ४ अर्ब ८१ करोड
२०७९/८० ८ अर्ब २७ करोड
२०८०/८१ ७ अर्ब ९४ करोड
कुल ३३ अर्ब ३६ करोड
स्रोत : भन्सार विभाग



