काठमाडौं:काठमाडौँको सुकेधारास्थित आइडियल यमुना हाम्रो बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्णबहादुर उप्रेतीको मुद्दामा आजबाट थुनछेक बहस सुरु हुने भएको छ।
जिल्ला सरकारी वकिल कार्यालयले उप्रेतीसहित ९ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा ठगीको कसुरमा मुद्दा दायर गरेको छ। बाँकी ८ जना भने फरार छन्।
फरार रहनेमा सहकारीका तत्कालीन उपाध्यक्ष शिवप्रसाद कट्टेल, कोषाध्यक्ष मुकुन्दप्रसाद पाण्डे, तत्कालीन सदस्य बद्री महत, सदस्य प्रकाशमान शाही, तत्कालीन सदस्य अरुण भण्डारी, विष्णुबहादुर रिमाल, लेखासमितिका तत्कालीन संयोजक राजु पौडेल र तत्कालिन लघुवित्त प्रमुख विश्मभर रिमाल रहेका छन्।
उनीहरूविरुद्ध सहकारीका २०३ जना बचतकर्ताले जाहेरी दिएका थिए। उनीहरूले आफूले बचत गरेको १५ करोड सतहतर लाख २० हजार ४० रुपैयाँ सहकारीबाट फिर्ता नपाएको दाबी गरेका छन्।
बचतकर्ताको रकम यी प्रतिवादीहरुले आफुखुसी लगानी र अपचलन गरी हिनामिना गरेको गुनासो गरेका छन्। उप्रेती २०७१ सालदेखि ललितपुरको कुपण्डोलमा केन्द्रीय कार्यालय रहेको हाम्रो सगरमाथा बहुउदेश्यीय सहकारी संस्थाको अध्यक्ष थिए।



