काठमाडौं :नेकपा एमालेको केन्द्रीय कार्यालयमा बाढी पसेको छ। गएरातिदेखिको अविरल वर्षापछि मनोहरा नदीमा उर्लिएको बाढीका कारण च्यासलस्थित एमाले मुख्यालय डुबानमा परेको हो।
रातभर परेको वर्षाले काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा क्षति पुर्याएको छ । बागमती किनारका सडक ढाक्ने गरी बाढी आएको थियो ।
एमाले केन्द्रीय कार्यालय, फुटबल मैदान, अस्थायी प्रहरी पोष्ट र पार्टी प्यालेसमा बाढी पसेको छ । सानेपा बल्खुदेखि शंखमुलसम्मको बागमती किनारको सडक क्षेत्र र सानेपाको रााम मन्दिर क्षेत्रमा पनि बाढी पसेर हिलाम्मे भएको छ ।
इमाडोलको किस्ट अस्पताल आसपास, पवन प्रकृति स्कुल आसपासको क्षेत्र र महालक्ष्मी नगरपालिका ७ चाँगाथलीमा गोदाबरी खोलाको बाढी बस्तीमा पसेको छ ।
ललितपुरको कुपण्डोलस्थित १ नम्बर वडा कार्यालय तथा काठमाडौंका बागमती नदी किनारका शंखमुल पार्क, सुकुम्बासी बस्ती, श्रमिक कान्ति कजेल, ननस्टप बसपार्कमा बागमतीको बाढी पसेको छ ।कालिमाटी तरकारी बजार क्षेत्रमा पनि बाढी पसेर क्षति पुर्याएको छ ।
भक्तपुरको पुरानो जगाती पुल नजिकको एक कपास उद्योग र चाँगुनारायण नगरपालिका–८ को एक फर्निचर उद्योगमा बाढीले क्षति पुर्याएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।



