२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

हैजा नियन्त्रणका लागि सांसद् तोसिमाको सरकारलाई पाँच सुझावसहित

images

  • २०८१ साउन २९, मंगलबार
  • 1.1K
    SHARES
  • हैजा नियन्त्रणका लागि सांसद् तोसिमाको सरकारलाई पाँच सुझावसहित

    काठमाडौँ : हैजा महामारीका कारण निम्तिन सक्ने स्वास्थ्य संकटकालको पूर्वानुमान, नियन्त्रण र द्रुत प्रतिकार्यलाई प्रभावकारी बनाउन सरकारसँग सांसद् तोसिमा कार्कीले आग्रह गरेकी छिन् ।

    कार्कीले साउन २४ गते खानेपानी मन्त्रीको नाममा पत्र नै काटेर आग्रह गरेकी छिन् । पत्रमा स्वास्थ्य मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र खानेपानी तथा ढल व्यवस्थापन महाशाखालाई बोधार्थ पठाइएकी छिन् ।

    काठमाडौं उपत्यकासँगै देशका विभिन्न स्थानमा हैजा संक्रमण फैलँदो क्रममा छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार यसवर्ष ४७ जनामा हैजा संक्रमण पुष्टि भइसकेको छ ।

    महाशाखाकाअनुसार ललितपुरमा मात्रै ३४ जनामा संक्रमण देखिएको छ । यस्तै कैलालीमा ८, प्युठान र काठमाडौंमा २–२ जना र रुपन्देहीमा १ जनामा संक्रमण पुष्टि भएको छ । तर हालसम्म अस्पतालमा भने कोही उपचाररत छैनन् ।

    इडिसिडीकाअनुसार हैजा भित्रभित्रै फैलिरहेको छ । पछिल्लो दिनमा बढ्दै गएका हैजा संक्रमित विभिन्न ठाउँमा देखिनुले भित्रभित्रै संक्रमण फैलिरहेको पुष्टि हुन्छ । संक्रमितले प्रयोग गरेका धारा र इनारको पानी, ट्याङ्करको पानी लगायतमा हैजाका जीवाणु देखिरहेका छन् । इडिसिडीका अनुसार पानी नै हैजा सार्ने प्रमुख माध्यम बनेको छ ।

    हैजा भिब्रिओ कोलरी नामक जीवाणुको संक्रमणका कारण हुन्छ । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन सामान्यतया झाडापखालाजस्तो देखिने हैजा केही गम्भीर प्रकृतिको हुने बताउँछन् ।

    उक्त जीवाणुको संक्रमण भएको केही घण्टादेखि पाँच दिनभित्र यसका लक्षणहरू देखिन्छन् । डा. पुनकाअनुसार हैजाको पहिलो स्रोत फोहोर वा तलाउ हुन् । ‘फोहोर पानी वा तलाउमा हैजाको जीवाणु रहिरन्छ । वर्षाको समयमा धेरै पानी पर्दा खानेपानीमा पुग्छ,’ डा. पुन भन्छन्, ‘खानेपानीको माध्यमबाट मानिसमा हैजा फैलिरहेको छ ।’

    झाडापखालाको कारणमध्ये हैजाको संक्रमण सबैभन्दा गम्भीर हो । हैजाले छोटो समयमा नै जटिलता ल्याउन सक्छ । सरुवा रोग विशेषज्ञ डा. पुनकाअनुसार १० संक्रमितमध्ये एक जनामा हैजाले जटिल अवस्था निम्त्याउँछ ।

    ‘हैजा लागेमा तारन्तार सेतो पानी र चामलका दाना आकारका म्युकस दिसाको माध्यमबाट जान्छ । अत्यधिक मात्रामा पातलो सेतो चौलानी जस्तो दिसा हुने, शरीरका माशंपेशी बाँउडिने, वान्ता हुने, थकाइ महसुस हुने आदि लक्षण देखिन्छन् ।

    गम्भीर असर देखिन थालेपछि तत्काल उपचार नभएको खण्डमा बिरामीको मृत्युसमेत हुनसक्ने विज्ञ बताउँछन् । यस्तै आँखा गाडिनु, मुख, जिब्रो, घाँटी र छाला सुख्खा भए कडा जलविजोजनको लक्षण हुन्छ । यस्तै पिसाब पहेँलो हुनु, पिसाब कम मात्रामा हुनु र मुटुको धड्कन अनियन्त्रित हुनु पनि कडा जलवियोजनको संकेत हो।

    हैजाबाट बच्न शौचालयमा मात्रै दिशा पिसाब गर्ने, शहरको बाहिरी फोहोर व्यवस्थापन उचित ठाउँमा गर्ने, दिसा र पिसाबपछि राम्रोसँग मिचिमिची साबुन पानीले हात धुने, खाना बनाउनु अघि साबुन पानीले हात धुने, पानी सधैं उमालेर खाने, काँचै खाने तरकारी तथा सलाद सफा पानीले धोइपखाली खानुपर्ने चिकित्सकको सुझाव छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा हैजा फैलिने जोखिम बढेको भन्दै सरकारले विभिन्न माध्यममार्फत सर्वसाधारण मानिसलाई खानेपानीबारे सजग रहन आग्रह गरेको छ । हैजा वा झाडापखाला लाग्नबाट बच्न पानी उमालेर, फिल्टर गरेर वा एक लिटर पानीमा तीन थोपा तरल क्लोरिन मिसाएर मात्रै पिउन विज्ञहरूले सुझाव छ ।

    उपरोक्त सम्बन्धमा मानिसमा अतिशीघ्र कडा जलवियोजन भई मृत्युसमेत हुन सक्ने जोखिम भएको तिव्र सङ्क्रामक भइ महामारीका रूप लिन सक्ने हैजाका बिरामी यस वर्ष साउन ७ गते ललितपुरबाट सुरू भइ आजसम्म ४ जिल्लामा यस संक्रमण देखिएको छ । आजसम्ममा देशभरि ३७ जना हैजाबाट संक्रमित भएकामध्ये ललितपुरमा २६ जना, कैलालीमा ८ जना, प्युठानमा २ जना र काठमाडौँमा एकजना रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क छ ।

    हैजा संक्रमणबारे प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्कीले हैजा सङ्क्रमण नियन्त्रण गर्न नसकिए महामारीको रूप लिइ स्वास्थ्य संकट सृजना गर्नसक्ने आकस्मिकतालाई अवमूल्यन गर्न नहुने बताएकी छिन् ।तसर्थ, हैजाको सम्भावित महामारी नियन्त्रण र द्रुत प्रतिकार्यप्रति संवेदनशील बनि यथाशीघ्र आवश्यक कदम चाल्न अनुरोध गरेकी छिन ।

    हैजा नियन्त्रणका सरकारले तत्काल अपनाउनु पर्ने ५ सुझावहरु यी हुन् : डा. तोसिमा कार्की

    १) हैजा नियन्त्रणका लागि सबैभन्दा महत्वपूर्ण मानिने व्यक्तिगत तथा वातावरणीय सरसफाई र स्वच्छ खानेपानीबारे देशव्यापी रूपमा स्थानीय सरकार र जिल्ला जनस्वास्थ्य कार्यालयको समन्वयमा जनस्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूह, टोल सुधार समिति लगायतका स्थानीय समूह समेतलाई सहभागी गराइ बृहत सचेतना कार्यक्रमहरु सञ्चालन गर्ने ।

    २) हैजा संक्रमण देखिएका जिल्लाहरू र विशेषतः ललितपुरमा (सबैभन्दा बढि संक्रमण देखिएकाले) सार्वजनिक स्थानहरूमा हैजाबाट बच्नका लागि पानी शुद्धिकरण तथा क्लोरिनेसन, व्यक्तिगत र वातावरणीय सरसफाइका उपाय लगायतका जानकारीमूलक पेम्प्लेट, पोस्टरहरू टाँस्नुका साथै स्थानीय सञ्चारमाध्यमबाट प्रकाशन, प्रसारण गर्ने ।

    ३) ललितपुर जिल्ला लगायत हाल हैजा संक्रमण देखिएका जिल्लाहरूमा स्वास्थ्य चौकी मार्फत पानि शुद्धिकरणका लागि स्थानीय बासिन्दालाई उपलब्ध हुनेगरि निःशुल्क पिउस वितरण गर्ने गराउने ।

    ४) देशैभरिका खानेपानी उपभोक्ता समितिहरू तथा खानेपानी वितरण गर्ने कम्पनीहरू समेतलाई क्लोरिनेसनको बारेमा अनिवार्य रूपमा प्रशिक्षण तथा अभिमुखीकरण गरि सोही बमोजिम गर्न लगाउने ।

    ५) मनसुनका कारणले विभिन्न स्थानमा बाढी, पहिरो लगायतका प्रकोपका कारण खानेपानी तथा ढलको पाइप फुट्ने, पानीका मुहानहरू सङ्क्रमित हुने भइरहेको हुँदा जोखिमयुक्त क्षेत्रहरूमा समेत माथि उल्लेखित कार्यक्रम सञ्चालन गर्ने ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ